राजकुमार ओली,दमक, वैशाख १९
दमक नगरपालिकाको भ्रमण सकेर फर्किंदै गरेका जनप्रतिनिधि र कर्मचारी सवार स्कोर्पियो गाडी उदयपुरमा दुर्घटनामा पर्दा कानुन अधिकृत माधव बस्नेतको निधन भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
मदन भण्डारी लोकमार्ग अन्तर्गत कटारी–गाईघाट सडकखण्डको कटारी नगरपालिका–६, सोमबारेमा बुधबार बिहान मे १ च ३०४० नम्बरको स्कोर्पियो अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गम्भीर घाइते भएका दमक नगरपालिका–३ निवासी ५५ वर्षीय बस्नेतको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा दमक नगरपालिका–९ का ३८ वर्षीय चालक देवेन्द्र तामाङ, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा, गौरादह नगरपालिका–१ का ५४ वर्षीय भुवन दाहाल र दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी गम्भीर घाइते भएका छन्।
उनीहरूलाई सुरुमा कटारी प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ। घाइतेमध्ये भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ। उनी दमक–१० का वडा अध्यक्ष समेत हुन्।
दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको टोली १२ गतेदेखि पोखरा, पाल्पा र लुम्बिनी भ्रमणमा गएको थियो। फर्कने क्रममा बुधबार बिहान नवलपरासी हुँदै कटारी आइपुगेको बेला स्कोर्पियो अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज विजय राईले जानकारी दिए।
कानुन अधिकृत बस्नेतप्रति दमक नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।