घेराबारी स्वास्थ्य चौकीका प्रमुखको फार्मेसीबाट अवैध औषधि बरामद, श्रीमती पक्राउ

 

, कचनकवल – घेराबारी स्वास्थ्य चौकीका प्रमुखकै फार्मेसीबाट अवैध औषधि बरामद भएपछि स्थानीय स्वास्थ्य प्रणालीको नैतिकता र नियमनमा प्रश्न उठेको छ। प्रहरीले फुलबारी बजारमा  रहेको एक फार्मेसीबाट ठुलो परिमाणमा बिना इजाजत बिक्रीका लागि राखिएको औषधि बरामद गरेको हो।

उक्त फार्मेसी घेराबारी स्वास्थ्य चौकीका इन्चार्ज अहेव (सहायक स्वास्थ्यकर्मी) विक्रम राजवंशीको नाममा सञ्चालन हुँदै आएको थियो। फार्मेसीमा राजवंशीकी श्रीमती बन्दना पोखरेल बस्दै आएको र उनी नै दैनिक कारोबारको जिम्मा लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरी स्रोतका अनुसार औषधिहरूमा नखुलेका म्याद, डोज र स्रोत नभएको पाइएका छन्। औषधि ऐन विपरीत संचालन गरिएको पसलबाट औषधि नियन्त्रण कार्यालयको अनुमति विना नै बिक्री वितरण गरिँदै आएको देखिएपछि प्रहरीले फार्मेसी सिलबन्दी गर्दै बन्दना पोखरेललाई पक्राउ गरेको हो।

झापा प्रहरी प्रमुखका अनुसार औषधि ऐन अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको छ। “सरकारी सेवामा कार्यरत व्यक्ति आफैँ अवैध रूपमा औषधि कारोबारमा संलग्न हुनु गम्भीर विषय हो,” प्रहरी स्रोतले भन्यो, “यसले स्वास्थ्यकर्मीप्रति जनविश्वासमा समेत असर पुर्याउँछ।”

स्थानीयबासीले सरकारी स्वास्थ्य चौकीका इन्चार्ज आफैँले नियम उल्लंघन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। गाउँपालिकाले पनि घटनाबारे छानबिन समिति गठन गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array