पत्रकार बिनु सुवेदीसहित तीन विधाका स्रष्टा तथा समाजसेवी पुरस्कृत

 

राजकुमार ओली
वैशाख २०, काठमाडौं

रुद्र-गौरी श्री-अम्बिका ओली प्रतिष्ठान, झापाद्वारा आयोजित एघारौं सम्मान तथा पुरस्कार समर्पण समारोहमार्फत पत्रकार बिनु सुवेदीसहित विभिन्न तीन विधाका चारजना स्रष्टा तथा समाजसेवीलाई सम्मान गरिएको छ। काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो।

पत्रकार सुवेदीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार
पत्रकारितामा पुरुष वर्चस्वयुक्त राजनीतिक बिटमा १५ वर्षको उमेरदेखि निरन्तर क्रियाशील रही पितृसत्तात्मक सोचलाई चुनौती दिंदै महिलाको उपस्थिति सशक्त रूपमा स्थापित गर्न योगदान पु¥याएको भन्दै पत्रकार बिनु सुवेदीलाई ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। पुरस्कारमा १ लाख १ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र समावेश गरिएको थियो।

मानव अधिकारका क्षेत्रमा डब्ल्युएचआर सम्मानित
एकल महिलाका अधिकार सुनिश्चितता तथा उनीहरूको सशक्तीकरणका लागि नीतिगत सुधार, व्यवहारिक अभियान सञ्चालनमा उल्लेखनीय योगदान दिएका कारण ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह (WHR)’ काठमाडौँलाई ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ प्रदान गरिएको हो। यस पुरस्कारमा पनि नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको थियो।

बाल अधिकार तथा सृजनामा उल्लेखनीय योगदान गर्ने दुई युवा सम्मानित
लैङ्गिक सामाजिक विभेदका विरुद्ध बाल्यकालदेखि सचेतनामूलक अभियान सञ्चालन गरेकी हेलम्बुकी सदिच्छा पण्डित र नवलपरासीका युवा सर्जक त्रिदेव पौडेललाई ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ प्रदान गरिएको हो। दुबै जनालाई जनही ५० हजार १ सय ११ रुपैयाँ नगद राशिसहित सम्मान गरिएको थियो।

सो अवसरमा सम्मानित सबै व्यक्तित्वहरूले आफ्नो मन्तव्य व्यक्त गर्दै यस्ता पुरस्कारले सामाजिक उत्तरदायित्व र सिर्जनशील क्रियाकलापप्रति थप प्रेरणा प्रदान गर्ने उल्लेख गरेका थिए।

कार्यक्रममा नेपाल मानव अधिकार आयोगकी आयुक्त तथा WHR की संस्थापक लिली थापा, पत्रकार बिनु सुवेदी, सदिच्छा पण्डित र त्रिदेव पौडेलले आ–आफ्नो धारणा व्यक्त गरे।
पुरस्कार छनोट समितिका तर्फबाट पत्रकार शिव गाउँलेले मूल्यांकनका आधार र छनोट प्रक्रिया बारे जानकारी गराएका थिए।

समारोह ओली प्रतिष्ठानका अध्यक्ष गङ्गा प्रसाद ओलीको अध्यक्षतामा सम्पन्न भएको हो। उपसभामुख इन्दिरा रानाले यसअघि आफू पनि यस प्रतिष्ठानको पुरस्कारबाट सम्मानित भएको उल्लेख गर्दै प्रतिष्ठानले समाजमा सकारात्मक अभ्यासको प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array