बिर्तामोड, वैशाख २० – पूर्व खबर
झापाको विर्तामोडस्थित पाताल गंगा बचत तथा ऋण सहकारी संस्थामा रु. दुई करोडभन्दा बढी रकम अपचलन गरेको आरोपमा फरार रहेका पूर्वअध्यक्ष रेवती खनाललाई प्रहरीले पक्राउ गरेको छ।
खनाललाई धनगढीबाट पक्राउ गरी विर्तामोड ल्याइएको इलाका प्रहरी कार्यालय अनारमनीले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार सहकारी सञ्चालक समितिको उजुरीका आधारमा खोजी गरिरहेका खनाललाई पक्राउ गरी अहिले अनारमनीमा राखिएको छ। उनलाई आगामी आइतवार जिल्ला अदालत झापामा उपस्थित गराउने तयारी भइरहेको छ।
सहकारीमा सदस्यले जम्मा गरेको ठुलो परिमाणको रकम अपचलन गरी फरार भएका खनालविरुद्ध उनी स्वयं नेतृत्व गरेको संस्थाले नै कानुनी प्रक्रिया अघि बढाएको हो। उक्त घटनापछि सहकारीको नेतृत्व परिवर्तन भई हाल युवराज गिरी अध्यक्ष छन्।
अध्यक्ष गिरीका अनुसार आफूले निजी घरजग्गा बैंकमा राखेर आवश्यक रकमको व्यवस्था गरी पीडित बचतकर्तालाई फिर्ता गरिदिई संस्थाको पुनः संचालन थालेको बताउनुभयो। “हामीले पूर्ण पारदर्शिताका साथ सहकारीलाई बचाउने प्रयास गरिरहेका छौँ,” अध्यक्ष गिरीले बताए।
यो घटनाले सहकारी क्षेत्रमा पारदर्शिता र विश्वासको महत्व पुनः उजागर गरेको छ। सहकारीको नाममा सर्वसाधारणको पसिना बगाएर जम्मा गरिएको रकम अपचलन गर्ने प्रवृत्तिविरुद्ध कडा कानुनी कारबाही हुनुपर्ने आवाज पनि चुलिएको छ।