धनकुटा, वैशाख २१ – नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजनामा पत्रकार महासंघ जिल्ला शाखाका सचिव र कोषाध्यक्ष लक्षित ‘प्रतिवेदन, प्रस्ताव, कार्यालय तथा लेखा व्यवस्थापन’ सम्बन्धी दुईदिने विशेष तालिम धनकुटाको नाम्जे होमस्टेमा सुरु भएको छ।
तालिमको औपचारिक उद्घाटन विराटनगर महानगरपालिका नगरप्रमुख नागेश कोइरालाले गरेका हुन्। उद्घाटन सत्रमा बोल्दै मेयर कोइरालाले संस्थागत दक्षता अभिवृद्धि गर्न यस्ता तालिम आवश्यक रहेको बताए।
तालिममा कोशी प्रदेशका सबै १४ वटै जिल्लाबाट महासंघका सचिव तथा कोषाध्यक्षहरूको सहभागिता रहेको छ। कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले गरेका थिए भने सञ्चालन महासचिव हिमा चेम्जोङले गरेकी थिइन्।
कार्यक्रममा साँघुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुमदानी, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदित र महासंघ उपाध्यक्ष कुमुद अधिकारीले स्वागत मन्तव्य दिएका थिए।
तालिममा वरिष्ठ सञ्चार प्रशिक्षक रामचन्द्र गौतम र दुर्गानन्द चौधरीले सहजीकरण गरिरहेका छन्।
महासंघको सातौं स्थापना दिवसको अवसरमा विराटनगर महानगरका नगरप्रमुख कोइरालाको हातबाट कोशी प्रदेश समितिको वार्षिक क्यालेन्डर समेत विमोचन गरिएको छ।
