झापा, वैशाख २१ – जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख पदमा प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
उनी मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, प्रहरी प्रधान कार्यालयको आदेशअनुसार झापा प्रहरी प्रमुखका रूपमा सरुवा भएर आएका हुन्।
नवप्रवेशी प्रमुखको स्वागत तथा झापाबाट प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज अन्तर्गत अपराध अनुसन्धान शाखा (काज: काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी) सरुवा भएका एसपी मिलन केसीको विदाईका लागि विशेष कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा एसपी लिम्बुलाई खादा र फूलमालासहित स्वागत गरिएको थियो भने एसपी केसीलाई अविर, खादा र मायाको चिनो प्रदान गर्दै “धन्यवाद एवं फेरी भेटौंला” भनिएको छ।
एसपी मिलन केसीले झापामा रहँदा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, आपराधिक गिरोहमाथि नियन्त्रण गर्ने, सशक्त ट्राफिक व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका थिए। उनको कार्यकालप्रति प्रहरीले मात्रै होइन, नागरिक तहबाट पनि प्रशंसा प्राप्त भएको थियो।
कार्यक्रममा विभिन्न प्रहरी अधिकृत, कार्यालय कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।
नवप्रमुख एसपी राजन लिम्बुले झापा जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र जनमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। कार्यभार ग्रहणपश्चात उनले भने, “जनताको विश्वास जित्ने खालको प्रहरी सेवा दिन म यहाँ आएको हुँ। सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।”