कनकाईमा तीन महिने कम्प्युटर तालिम सुरु

 

चन्द्र बस्नेत, कनकाई (२१ बैशाख) पूर्व खबर
कनकाई नगरपालिका–३ का ३० जना छात्राका लागि तीन महिने कम्प्युटर तालिम सुरु गरिएको छ।

सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तथा कनकाई नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालनमा आएको तालिम वडा स्तरीय महिला लक्षित कार्यक्रमअन्तर्गत सुरु गरिएको हो।

वडाका १३ वटै टोलबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएका ३० जना छात्रालाई सुरुङ्गामा रहेको कनकाई कम्प्युटर इन्स्टिच्युटमा तालिम दिइनेछ। तालिम प्रशिक्षक प्रवेश घिमिरेद्वारा दिइने छ, भने आयोजनामा सामुदायिक सिकाइ केन्द्रको प्रमुख भूमिका रहनेछ।

आईतबार वडा कार्यालयमा आयोजित एक विशेष समारोहका बीच तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष युवराज चौलागाईंले सहभागीलाइ अवसरको सदुपयोग गर्दै व्यावहारिक सीप सिक्न प्रेरणा दिनुभएको थियो। उहाँले यस्ता कार्यक्रम नगरस्तरमा अन्य वडामा पनि विस्तार गर्नु जरुरी रहेको धारणा राख्दै बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा वडासदस्य गोविन्द सुवेदी, उद्योग वाणिज्य संघ प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष शिवकुमार कडेल, र सुरुङ्गा जेसिजका अध्यक्ष दीपेन्द्र प्रधानलगायतले मन्तव्य राख्दै यस्ता तालिमहरू भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।

कार्यक्रमको सभापतित्व सुरुङ्गा सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष पुष्पा भट्टराई कडेलले गर्नुभयो। उहाँले प्राप्त अवसरको पूर्ण उपयोग गर्न आग्रह गर्दै अभ्याससँगै सैद्धान्तिक ज्ञान पनि आवश्यक रहेको बताउनुभयो। नेपाल सरकारको निरक्षरता निवारण अभियानअन्तर्गत २०७० सालमा स्थापना भएको यो केन्द्रले विभिन्न सामाजिक रूपान्तरणमुखी तालिमहरू सञ्चालन गर्दै आएको छ।

संस्थाकी कोषाध्यक्ष ममता सुवेदी सेडाईंका अनुसार यसअघि कनकाई–१ मा एक महिनाको मण्टेश्वरी तालिम र कनकाई–६ मा उद्घोषण तथा माइन्युट लेखन तालिम सञ्चालन भइसकेका छन्।

कार्यक्रममा कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वडा सदस्य अनिलकुमार गोयल, सहकार्य युवा क्लब अध्यक्ष सुमन कार्की, कनकाई कम्प्युटर इन्स्टिच्युटका व्यवस्थापक डिल्लिराम घिमिरे, महिला समूहका प्रतिनिधि, टोल संयोजक, समाजसेवीसहित ६० जना बढीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन लिला देवी प्रसाईंले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष मुना देवी सिटौलाले गर्नुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array