बिर्तामोड, २२ वैशाख — सामाजिक सञ्जालको सदुपयोग र यसले उत्पन्न गरेका चुनौतीहरूबारे सचेतना बढाउने उद्देश्यले झापाको बिर्तामोडमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्राइड मिडिया प्रा.लिद्वारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा सोमवार आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, पत्रकार तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रह्यो।
कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाई सहभागी हुनु भएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेल, तारामणि सापकोटा, महासंघका उपाध्यक्ष सुव्रत न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वाँस्तोला लगायतले सामाजिक सञ्जालको प्रयोगसँगै देखा परेका चुनौती र यसको प्रभावबारे आफ्ना विचार व्यक्त गरे।
कार्यक्रमका अवसरमा प्राइड मिडिया प्रा.लिद्वारा निर्माण गरिएको टेबल क्यालेन्डर पनि सार्वजनिक गरिएको थियो। नगरप्रमुख प्रसाई, पूर्व अध्यक्ष पोखरेल, सापकोटा, उपाध्यक्ष न्यौपाने र अध्यक्ष वाँस्तोला लगायतले संयुक्त रूपमा क्यालेन्डर सार्वजनिक गर्नुभएको थियो।
कम्पनीका सञ्चालक पदम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा पत्रकार उमाकान्त खनालले अन्तरक्रियाको पृष्ठभूमि र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना रोदनलगायत वक्ताहरूले सामाजिक सञ्जालले ल्याएका सकारात्मक पक्षका साथै बढ्दो दुरुपयोग र यसको असरबारे गम्भीर चासो व्यक्त गर्दै सुझावहरू राखेका थिए।
नयाँ पेपर डटकमद्वारा सञ्चालित यस्ता कार्यक्रमले समाजमा सूचना र संचारको जिम्मेवार प्रयोगबारे नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ