सरस्वती मिश्र, २३ वैशाख: बिर्तामोड
झापा जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका नागरिकप्रति देखाएको समर्पणको एउटा अनुकरणीय उदाहरण हालै बिर्तामोडमा प्रस्तुत गरेको छ।
कार्यालयले वडा नम्बर ५ बुद्ध टोल निवासी प्रेमबहादुर लिम्बु र मनकुमारी शेर्मा लिम्बुका तिम्ल्याहा छोरीहरू — आकृती, ईन्तुसा र ईक्सा लिम्बुलाई घरमै पुगेर नेपाली नागरिकता वितरण गरेको हो। तीमध्ये ईन्तुसा ओच्छ्यानबाटै उठ्न नसक्ने अवस्थामा रहेकी छिन्।
सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरु, नायव सुब्बा यदुनन्दन दाहाल, जीवन पौडेल, कर्मचारी नारायण राजवंशी तथा वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईको टोलीले नागरिकता वितरण गरेको हो।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार अति अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयसम्म ल्याउन कठिन हुने भएकाले नागरिकता वितरण प्रक्रिया अब नियमित रूपमा घरमै पुगेर पनि गरिँदै आएको छ।
यस कार्यले न केवल संवेदनशील सेवा प्रवाहको सन्देश दिन्छ, अपाङ्गता भएका नागरिकहरूप्रति राज्यको जिम्मेवारी र समावेशी शासन व्यवस्थाको प्रतिबद्धता पनि स्पष्ट पार्दछ। बिर्तामोड नगरपालिकाले यस्तो पहललाई सहजीकरण गर्दै सामाजिक न्याय र अधिकारका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गरेको छ।
नगरपालिकाका तर्फबाट समेत यस कार्यमा सहकार्य जनाइएकाले भविष्यमा अपाङ्गता भएका अन्य व्यक्तिहरूको हकहित सुनिश्चित गर्न थप प्रयास गरिने अपेक्षा गरिएको छ।