मदन पोखरेल, २४ वैशाख –

युरोपको भूमिमा नेपाली अस्तित्व र गौरव बोकेको सबैभन्दा पुरानो संस्था ‘यति नेपाली एसोसिएशन युके’ ले नयाँ नेतृत्व चयन गरेको छ।

नेपाली समुदायको साझा चौतारीको रूपमा चिनिएको ६५ वर्ष पुरानो संस्थाको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी टङ्क भट्टराई निर्वाचित भएका छन्।

भट्टराईको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिमा उपाध्यक्षमा नेपाली क्रिकेट र कलाको प्रवर्धनमा सक्रिय पाण्डे राज, महासचिवमा आशिषराज पन्त, र सदस्यमा लक्ष्मण पाण्डे चयन भएका छन्।

‘यति’ संस्था कुनै बेला युरोपमा नेपालीहरूको एकमात्र साझा संस्था थियो। दूतावास, शाही परिवारका विद्यार्थी, सैनिक, र व्यवसायी सबैको साझा पहिचानका रूपमा रहेको यस संस्थाले दशकौँसम्म नेपाली संस्कृति, भाषा, कला र समृद्धि प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ।

एनआरएनए स्थापना पछि केही समय ओझेलमा परेको यो संस्था अब पुनः नयाँ उत्साहसाथ अघि बढ्ने संकेत देखिएको छ। “राजनीतिक गन्धबाट टाढा रहँदै सबै नेपालीलाई समेट्ने साझा चौतारी बनाउने हाम्रो दृढता छ,” नवनिर्वाचित अध्यक्ष भट्टराईले भने।

नेपाली समुदायमा लामो इतिहास बोकेको यति एसोसिएशनको नयाँ नेतृत्वले परम्परा र नवीनताको संयोजन गर्दै विदेशमा नेपाली एकता, सहकार्य र गौरवका लागि नयाँ अध्याय सुरु गर्ने विश्वास लिइएको छ।

नयाँ टिमलाई शुभेच्छुकहरूले बधाई दिँदै संस्थालाई पुनः पहिलेकै गौरवपूर्ण स्थानमा पुर्‍याउने अपेक्षा गरेका छन्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *