राजकुमार ओली,कन्काई, झापा –
झापाको कन्काई नगरपालिका छिट्टै बालमैत्री नगरपालिकाको रूपमा घोषणा हुने भएको छ।
नगरका विभिन्न ५३ उपलब्धिहरूको आधारमा यस्तो घोषणा गर्न लागिएको कन्काई नगरपालिकाले जानकारी दिएको छ।
नगरपालिकाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले बालबालिकाको हक, हित र सुरक्षासम्बन्धी कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको जनाउँदै “५३ वटा मापदण्ड पुरा गरेपछि कन्काईलाई बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको बताउनुभएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, बाल कल्याण अधिकृत उमानाथ ढकाल, कन्काई बाल सञ्जालका अध्यक्ष विजय तिवारीलगायतले बालमैत्रीकरणका पहल, चुनौती र सफलता बारे विस्तृत जानकारी दिनुभएको छ।
कन्काई नगरपालिका झापा जिल्लामा तेस्रो बालमैत्री नगरपालिका घोषणा हुँदैछ भने कोशी प्रदेशको पाँचौं र नेपालको २५औ पालिका बन्ने भएको हो।
बाल अधिकारका क्षेत्रमा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिका पुनः नामदर्ता गराउने, बालश्रम न्यूनीकरण गर्ने, शिक्षा तथा स्वास्थ्य पहुँच विस्तार गर्ने कार्यमा विशेष पहल गरेको बताइएको छ। बाल अधिकारमा आधारित नीति, कार्यक्रम र बजेट सुनिश्चित गरिएको उल्लेख गर्दै सम्बन्धित निकायहरूले कन्काईलाई प्रदेशमै उदाहरणीय बनाउने अठोट व्यक्त गरिएको हो
९ वटा बालविवाह रोकिनु सफलताको संकेत
पत्रकार सम्मेलनमा हालसम्म कन्काई नगरपालिकामा भएका ९ वटा बालविवाहका घटनाहरूलाई समयमै पत्ता लगाई रोकिएको विवरण पनि प्रस्तुत गरियो। तीमध्ये केही घटनामा प्रहरीले हस्तक्षेप गरी विवाह रोकिएको र सम्बन्धित परिवारलाई सचेतना दिइएको जनाइएको छ। यस कार्यमा स्थानीय जनप्रतिनिधि, बाल सञ्जाल र नागरिक समाजको भूमिका उल्लेखनीय रहेको बताइएको छ।
नगर प्रमुख पोखरेलले भने, “बालबालिकाको संरक्षण हाम्रो प्राथमिकता हो। हामी कुनै पनि रूपमा बाल अधिकारको हनन हुन दिँदैनौं।” उहाँले आगामी दिनमा अझ प्रभावकारी नीति र कार्यक्रम ल्याएर कन्काईलाई बालमैत्री मात्र होइन, ‘बाल अधिकारमा आत्मनिर्भर’ नगरपालिका बनाउने लक्ष्य रहेको जानकारी दिनु भएको हो।