राजकुमार ओली। दमक झापा
दमक नगरमा ३०० बेड क्षमताको अत्याधुनिक अस्पताल निर्माणका लागि चार बिघा जग्गाको आवश्यकता परेको समाचारले नगरवासीलाई आशाको संकेत दिएको छ।
यो अस्पताल दमक लगायत झापा, मोरङ, इलाम, धनकुटा, पाँचथर र ताप्लेजुङका नागरिकलाई लक्षित गरी उच्चस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यसहित अघि बढाइएको हो।
निम्स अस्पतालका सञ्चालक उमाकान्त आचार्यको दमक ९ स्थित घरको दक्षिण र पशुपति स्कुलका प्र अ सिताराम निरौला को घर पश्चिमपट्टि, जहाँ करीब १८ बिघा जग्गा मेडिकल कलेज खोल्ने सर्तमा लाइफलाइन अस्पताल प्रालिले कम मूल्यमा खरिद गरी कम्पनीको नाममा पास गरेको थियो, सोही जग्गा अहिले पनि खाली अवस्थामा रहेको अवस्थामा यो जमिन समेत अति उपयुक्त हुने स्थानीय बासीहरूको बुझाइ छ।
लाइफलाइन अस्पताल प्रालीले मेडिकल कलेज नबनाएकाले अहिलेसम्म सो जग्गाको प्रयोग हुन सकेको छैन।
स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका नेता शेरबहादुर भट्टराईले सो १८ बिघा क्षेत्रफलको मध्य भागबाट अस्पतालका लागि आवश्यक जग्गा – दमक नगरपालिकालाई उपलब्ध गराइदिए बाँकी १२ बिघा क्षेत्रलाई आवासीय योजना वा प्लटिङका रूपमा प्रयोग गर्न सकिने सुझाव पनि आएको छ।
हाल यो जग्गामा कुनै महत्वपूर्ण काम गर्न सकिएको देखिँदैन भने सर्त बमोजिमको मेडिकल कलेज नभनेपछि स्थानीय बासीहरु समेत चिन्तित र जमिनको भोगाधिकारमा प्रश्न उठाएका छन्।
आफूहरूले मेडिकल कलेज बन्छ भन्ने प्रस्ताव आएको ले आफूहरुले सस्तो मूल्यमा आफ्नो जग्गा काटेर बिक्री गरिएको तर हालसम्म पनि कुनै महत्वपूर्ण काम थालनी नगरेको हुँदा आफूहरुले उक्त जग्गा भोगचलन गर्न नदिएको स्थानीय हरु बताउँछन् ।
यो जमिन दमकको मध्यभाग को पूर्वपश्चिम राजमार्ग बाट चिया दोकान चोकबाट ४ किलोमिटर दक्षिण ५० फिटे कालोपत्रे सडकसँग जोडिएको छ।
लाइफलाइन अस्पतालले मेडिकल कलेज बनाउनको निम्ति दमक १० को खानेपानी ट्याङ्कीको पश्चिमपट्टि करिब ८ बिघा र पशुपति स्कुल को उत्तरपट्टि करिब ९ बिघा जग्गा खरिद गरेको छ। २० बिघा जमिनमध्ये केही जग्गा पास गर्न बाँकी रहेको र मेडिकल कलेज बन्न नसकेपछि स्थानीय बासीहरुले पास गर्न बाँकी रहेको जग्गा पास नगरिदिएको प्रालीको गुनासो छ। विगत लामो समयदेखि उक्त जमिन अस्पतालले भोकचलन गर्न पाएको छैन भने स्थानीयवासीहरु समेत उक्त मेडिकल कलेज बनाउने सर्तनामा भङ्ग हुँदा दुखित र चिन्तित एवं आक्रोशित भएको जमिनका सहजकर्ता मध्यका एक उमाकान्त आचार्यहरूले पूर्व खबरलाई बताए ।
दमक–९ का वडा अध्यक्ष कुबेर भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो विषयमा चासो देखाइसकेका छन् र वि.सं. २०८२/८३ को बजेटमै दमकमा सुविधा सम्पन्न अस्पताल निर्माणको पहल हुने जानकारी प्राप्त भएको छ।
आजै दमक नगरपालिकाका पाँचजना वडा अध्यक्षहरू – दिपेश दाहाल, कुबेर भट्टराई लगायत – ले संयुक्त रूपमा नगरवासीको भावना र स्वास्थ्य आवश्यकता अनुसार अस्पताल निर्माणको लागि पहल जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनीहरूका अनुसार नगरवासी तथा वडावासीहरूकाे सक्रिय सहजीकरणकाे खाँचो रहेको छ।
यदि सम्बन्धित जग्गा सहज रूपमा उपलब्ध भयो भने, दमकमा प्रस्तावित अस्पताल पूर्वी नेपालकै प्रमुख स्वास्थ्य केन्द्र बन्न सक्ने सम्भावना बलियो देखिएको छ।
भोलिका दिनमा दमक अस्पताल , दमक कै सरकारी अस्पताल लाई समायोजन गरी दमक मेडिकल कलेज समेत बनाउन सकिने सम्भावना प्रबल देखिन्छ
यो विषयमा दमकका नगरप्रमुख राम थापा एवं उपप्रमुख रिजिना भट्टराई प्रसाई समेत जसरी पनि दमकमा अत्याधुनिक अस्पताल बनाएर नागरिकको सेवा गर्न आतुर देखिएको पाइएको छ।