झापा, वैशाख २५ – कनकाई नगरपालिका अब औपचारिक रूपमा बालमैत्री नगर बनेको छ। बिहीवार नगरको १२औं स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा कनकाईलाई स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की प्रमुख अतिथि रहनु भएको थियो। कार्की र जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले नगर प्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेलाई संयुक्त रूपमा प्रमाणपत्र प्रदान गर्दै बालमैत्री नगर घोषणा गर्नुभयो।

नगर प्रमुख पोखरेलले २०७९ माघ १८ मा कार्यपालिकाबाट पारित निर्णयअनुसार सरकारले तोकेको ५१ सूचकसहित थप दुई स्थानीय सूचक गरी कुल ५३ सूचक पूरा गरेपछि कनकाई बालमैत्री नगर घोषित भएको जानकारी दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बालविवाह न्यूनीकरण, लागूऔषध नियन्त्रण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठोस कार्ययोजना अघि बढाइने प्रतिबद्धता जनाउनुभयो। उपप्रमुख शिवाकोटीले बालमैत्री घोषणासँगै जिम्मेवारी थपिएको भन्दै बाल अधिकार सुनिश्चित गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बालकल्याण अधिकारी उमानाथ ढकालले कनकाई झापाको तेस्रो, कोशी प्रदेशको पाँचौं र देशको २४औं बालमैत्री नगर भएको जानकारी दिनुभयो। बालसञ्जालका पूर्वअध्यक्ष अभिषेक मिश्र र अध्यक्ष विजय तिवारीले नगरसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सो अवसरमा लिम्बु, किरात, सन्थाल समुदाय, स्काउट, बालसञ्जाल, शिक्षक, जनप्रतिनिधि र विद्यार्थीहरूको सहभागितामा दुर्गापुरदेखि नगर कार्यपालिका भवनसम्म र्‍याली निकालिएको थियो। साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्रा रोशन, कांग्रेस नगर सभापति दुर्गा प्रसाईलगायत विभिन्न दल, संघसंस्था, सुरक्षा निकाय, सञ्चारकर्मी र आम नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम “सुनिश्चित बालमैत्री वानी–व्यवहार, सुखी र समृद्ध कनकाईको आधार” भन्ने नाराका साथ सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन जनप्रतिनिधिहरू रिता उप्रेती र निर्मला खड्काले संयुक्त रूपमा गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *