राजकुमार ओली २६ वैशाख:बिर्तामोड,
झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका प्रतिष्ठित समाजसेवी विनोद बस्नेतको झुन्डिएर आत्महत्या भएको पुष्टि भएको छ। बिर्तामोड नगरपालिका–१ स्थित आफ्नै निवासमा शुक्रबार बिहान उनले आत्महत्या गरेका हुन्। प्रहरीले घटनास्थल सिल गर्दै अनुसन्धान अघि बढाएको छ।
विनोद बस्नेत, पिता कृष्णबहादुर बस्नेतका जेठा छोरा, समाजसेवा र व्यवसाय दुबै क्षेत्रमा समर्पित व्यक्तित्वका रूपमा चिनिन्थे। उनले समाज सुधार, युवाको नेतृत्व विकास तथा व्यवसायिक संगठनमा नेतृत्वदायी भूमिका निभाएका थिए। उनका असामयिक निधनले झापा जिल्लामा स्तब्धता छाएको छ।
सक्रिय समाजसेवाबाट आत्महत्यासम्मको यात्रा
विनोद बस्नेतले झापा गोल्डकपको अध्यक्ष भएर जिल्लाको खेलकुद क्षेत्रमा विशेष योगदान दिए। त्यस्तै, उनी नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसीज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष, ‘एकका लागि एक अभियान’ का सहसंयोजक, र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यसमिति सदस्य समेत रहेका थिए।
मेची पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिवका रूपमा पेट्रोलियम व्यवसायको व्यवस्थापनमा पनि उनले उत्तिकै सक्रियता देखाएका थिए। उनले सञ्चालकको रूपमा स्थापना गरेका सयपत्री ट्रेड लिंक लगायतका व्यवसायहरू झापाको व्यावसायिक क्षेत्रमा परिचित नाम हुन्।
पारिवारिक पृष्ठभूमि र व्यावसायिक दबाब
बस्नेत विवाहित थिए। परिवारमा श्रीमती, र छोरी छन्। सामाजिक जिम्मेवारी, व्यावसायिक दायित्वका कारण उनी तनावमा रहेको अनुमान गरिएको छ। आत्महत्याको कारणबारे विस्तृत विवरण भने खुलेको छैन। नजिकका व्यक्तिहरूका अनुसार उनी पछिल्ला दिनहरूमा मानसिक तनावमा देखिएका थिए।
समाजले गुमायो प्रेरणादायी नेतृत्व
बिर्तामोड र झापावासीले उनलाई ‘एक प्रेरक, जोसिला र स्पष्टवक्ता नेता’का रूपमा सम्झिरहेछन्। सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका बस्नेतको निधनले झापा जिल्लाले एक प्रेरणादायी युवा गुमाएको अनुभव गरिरहेको छ।
उनको निधनप्रति विभिन्न सामाजिक संघसंस्था, खेलकुद क्षेत्र, व्यवसायिक संगठन तथा स्थानीय जनप्रतिनिधिहरूले गहिरो शोक व्यक्त गरेका छन्।