बिर्तामोड, वैशाख २६ —
कानुनी पहुँचलाई स्थानीय तहसम्म पु-याउने उद्देश्यले बिर्तामोड नगरपालिकाले नगरका मेलमिलापकर्ताहरूलाई लक्षित गर्दै चार दिवसीय लेखनसीप तालिम सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुनेछ।
बिर्तामोड नगरपालिकाको आयोजनामा र टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा सञ्चालित तालिममा विभिन्न वडाका ३५ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको छ। तालिमको सहजीकरण झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोख्रेल, झापा बार एशोसिएसनका अध्यक्ष बसन्त नेपाल र अधिवक्ता कोपिला अधिकारीले गरिरहेका छन्। तालिमबारे जानकारी उजुरी प्रशासक टिकामाया लामिछानेले दिनुभयो।
तालिममा मेलमिलाप प्रक्रियामा आवश्यक पर्ने लिखत ज्ञान — निवेदन, जोहरी दरखास्त, मस्यौदा, करार, मिलापत्र, संयुक्त दरखास्त, वारेसनामा लगायतका कानुनी कागजातको संरचना, विषयवस्तु र मान्यता सम्बन्धी व्यावहारिक सीप प्रदान गरिनेछ।
बिर्तामोड नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाले तालिम उद्घाटन गर्दै लेखनसीपको अभावले मेलमिलाप प्रक्रियामा देखिने व्यवहारिक समस्याहरू समाधान गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले ‘सुलह, मेलमिलाप र न्यायमा पहुँच’ भन्ने मूल सन्देशलाई व्यवहारमा उतार्न मेलमिलापकर्तालाई सशक्त बनाउने उद्देश्य राखेको उल्लेख गर्नुभयो।
मेलमिलापकर्तामार्फत विवादको शीघ्र र वैकल्पिक समाधान स्थानीय तहमै खोज्न सकिने नीति अनुरूप बिर्तामोड नगरपालिकाले विगत केही वर्षदेखि मेलमिलाप संयन्त्रलाई सशक्त बनाउँदै आएको छ। यस किसिमको तालिमले न्याय सम्पादनमा पारदर्शिता, दक्षता र पहुँच सुनिश्चित गर्दै समुदायमै सहजीकरणको वातावरण बनाउने विश्वास गरिएको छ।
स्थानीय तहमा न्यायको पहुँच सुनिश्चित गर्ने संवैधानिक जिम्मेवारीलाई आत्मसात गर्दै बिर्तामोड नगरपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्न गरेको यो पहल कानुनी सशक्तिकरणको महत्वपूर्ण आधार बन्ने देखिन्छ।