बिर्तामोड झापा
विश्वभर ‘अन्तर्राष्ट्रिय नर्सिङ दिवस’ मनाइरहँदा नेपाल मेडिकल कलेजले विशेष कार्यक्रमका साथ नर्सिङ सेवामा अतुलनीय योगदान दिने नर्सहरूलाई सम्मान गरेको छ।
कलेजले आइतबार पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक डा. साविहा यासमिनले नर्सिङ पेशाको मानवीय संवेदना र करुणालाई कुनै पनि प्रविधिले प्रतिस्थापन गर्न नसक्ने स्पष्ट पार्नुभयो।
“बिरामीको सेवामा नर्सहरूको भूमिकालाई एआईले कहिल्यै रिप्लेस गर्न सक्दैन,” डा. यासमिनले भन्नुभयो, “नर्सहरूको करुणा, माया र समर्पणको कुनै विकल्प छैन। स्वास्थ्य सेवा प्रणालीमा डाक्टर मस्तिष्क हुन् भने नर्सहरू मुटु हुन्।”
उहाँले नर्सहरूलाई पर्दा पछाडिका हिरोको संज्ञा दिंदै, ८० प्रतिशत बिरामी नर्सहरूको सेवा र स्याहारका कारण घर फर्किन सफल हुने तथ्य औंल्याउनुभयो। “जुन दिन नर्स हुँदैनन्, त्यही दिन स्वास्थ्य प्रणाली ध्वस्त हुन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले नर्सहरूलाई ‘फ्लोरेन्स नाइटिङ्गल’ बन्ने प्रेरणा लिन आग्रह गर्नुभयो। आइसियूको अवधारणा ल्याउने फ्लोरेन्स नाइटिङ्गलकै योगदानलाई स्मरण गर्दै उहाँले नर्सिङ सेवा मानवताका लागि क्रान्तिकारी भएको उल्लेख गर्नुभयो।
त्यस्तै, अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरूलाई समर्पित कविता वाचन गर्दै मातृ मृत्युदर, नवजात मृत्युदर र पोलियो उन्मूलनमा नर्सहरूको विशेष भूमिका रहेको बताउनुभयो। कलेजकी मेट्रोन नविना सिंहले सरकारले नर्सिङ शिक्षाको प्रवर्द्धनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा १५ वर्षभन्दा बढी समयदेखि कार्यरत २९ जना नर्सहरूलाई सम्मान गरिनुका साथै नर्सहरूले नृत्य, गीत र नाटकमार्फत नाइटिङ्गलको जीवनी प्रस्तुत गरेका थिए। साथै, कलेजमा उपचाररत करिब २ सय बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो।
फ्लोरेन्स नाइटिङ्गलको जन्म सन् १८२० मे १२ मा भएको थियो। आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिने उहाँलाई ‘द लेडी विद द ल्याम्प’ भनेर विश्वभर सम्मान गरिन्छ। यस वर्ष ‘हाम्रा नर्सहरू, हाम्रा भविष्य, नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई सुदृढ बनाउँछ’ भन्ने नाराका साथ दिवस मनाइएको छ.।