महानगर प्रहरीमा भाँडभैलो

0
SHARES
26
VIEWS

नेतृत्वले तल्ला तहका प्रहरीलाई अपमान गरेको आरोप

काठमाडौं महानगरको नगर प्रहरीभित्रको विवाद सतहमै देखिएको छ । लामो समयदेखि काम गरेका तल्ला तहका नगर प्रहरीमाथि नेतृत्व तहले अपमान गरेको, काममा दबाब दिएको, गुनासो सुनुवाइ नगरेको भन्दै नगर प्रहरीहरू विरोध र आलोचनामा उत्रिएका छन् ।

३० वर्ष महानगरको नगर प्रहरी सेवामा कार्यरत सइ लोकनाथ चुडालले नेतृत्व तहको क्रियाकलापप्रति असन्तुष्टि जनाउँदै महानगर प्रशासनलाई सोमबार राजीनामा पत्र बुझाएका छन् । अन्य तल्ला तहमा कार्यरत नगर प्रहरीहरूसमेत नेतृत्वसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिइरहेका छन् । संगठनमा नेतृत्व तह अनावश्यक रूपमा हाबी भएकाले राजीनामा दिएको चुडालले बताएका छन् । तर, संगठन सुधारिएर तल्लो तहका गुनासा सम्बोधन गरे राजीनामा फिर्तासमेत लिन तयार हुने चुडालले राजीनामा पत्रमा उल्लेख गरेका छन् । ‘नगर प्रहरीमा सेवा गर्न थालेको ३० वर्ष बित्यो, तर अहिले हामीमाथि अनावश्यक दोष थुपारियो, कामको जस उनीहरू मात्रै लिन्छन्, हाम्रो के समस्या छ, सुन्दैनन्,’ चुडालले भने, ‘संगठन सुधारका लागि र अन्य तल्लो दर्जामा कार्यरत प्रहरीको न्यायका लागि मैले राजीनामा दिएको हुँ ।’ चुडालले मापदण्डविपरीतका संरचना बनाएकाहरूलाई प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिले संरक्षण गर्ने र तल्लो तहका कर्मचारीलाई तर्साउन लगाउने गरेको आरोप लगाए । चुडालको राजीनामा महानगर प्रशासनले स्वीकृत भने गरेको छैन ।

तल्लो तहका (सइ, असइ, हबल्दार, सिपाही, कासलगायत) नगर प्रहरीलाई माथिल्लो तहले जिम्मेवारी मात्रै दिएको चुडालको भनाइ छ । आफूहरूको गुनासो नसुनिएको, नेतृत्वले आफूहरूलाई दोष लगाउने गरेको, अपमान तथा घृणाजनक शब्दले सम्बोधन गरेको, एउटा क्षेत्रमा काम गर्दै आएकोलाई अर्को क्षेत्रमा खटाउन थालेको, कामको जस नपाएकोलगायत गुनासा तल्लो दर्जाका अन्य नगर प्रहरीले पनि गरेका छन् । ‘हामीलाई पुरानै सेवा–सुविधामा दौडाउन थालिएको छ, हाकिम र सीमित कर्मचारीको तलब सुविधा बढाइएको छ,’ एक नगर प्रहरीले भने, ‘हामी काम गर्न तयार छौँ, तर कामको जस पनि पाउनुपर्छ ।’

एसपी पाण्डेले महिला नगर प्रहरीलाई अपमान गरेको आरोप
गत १४ असोजमा एसपी राजुनाथ पाण्डेसँग नगर प्रहरी गंगा उप्रेतीले बिदा माग्दा अपमानजनक व्यवहार गरेको आरोप छ । दुधेबालकको हेरचाह र उपचार गर्न बिदा माग्दा एसपी पाण्डेले बिदा नदिएको र अपमान गरेको भन्दै उप्रेतीले प्रमुख प्रशासकीय अधिकृतसँग गुनासो गरेकी थिइन् । त्यसपछि उनलाई प्रशासकीय शाखामा सरुवा गरिएको थियो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने अपमान तथा सम्मानको विषयमा विवाद भएको बताए । महानगर दिवसको अवसरमा २९ मंसिरमा चुडाललाई सम्मान नगरेपछि उनी राजीनामा दिन पुगेको मानन्धरको भनाइ छ । ‘संगठनभित्र उहाँहरूको अरू विवाद के हो थाहा भएन, तर उहाँले महानगर दिवसमा आफूलाई सम्मान नगरको भन्दै आपत्ति जनाउनुभएको रहेछ,’ उनले भने, ‘सम्मानकै लागि हो भने अर्को वर्ष पनि महानगर दिवस आउँथ्यो ।’

चुडाल महानगरमा खट्ने सक्रिय नगर प्रहरी हुन् । उनी फिल्ड इन्चार्ज पनि हुन् । पछिल्लो समय उनी फुटपाथ तथा अवैध संरचना भत्काउने कार्यमा खटिँदै आएका छन् । तर, नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे तथा अन्य डिएसपीहरूले तल्लो तहमा कार्यरत प्रहरीलाई अपमानजनक व्यवहार गरेको चुडालको आरोप छ । हाल काठमाडौं महानगरका एक सय ७१ जना स्थायी नगर प्रहरी छन् । निजी सेक्युरिटी कम्पनीमार्फत एक सयजना अस्थायी नगर प्रहरी महानगरले हालै थप गरेको छ ।nayapatrikabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार