रविन खरेल, २९ वैशाख:इटहरी,

– कोशी प्रदेश पौडी संघको आयोजनामा सुनसरीको इटहरीस्थित स्पोर्ट्स कम्प्लेक्समा जारी ‘दोस्रो कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता–२०८२’ सोमबार एक समारोहका बीच सम्पन्न भएको छ।

समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) रहेका थिए। उनले पौडी खेलले शारीरिक क्षमता, अनुशासन र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए।

“पौडी जस्तो ओलम्पिक खेलको विकासका लागि स्थानीय तहदेखि प्रदेशसम्म समन्वयमा कार्यक्रम सञ्चालन आवश्यक छ,” सचिव बस्नेतले भने, “यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने छन्।”

कार्यक्रममा संघका अध्यक्ष डम्बर बहादुर तामाङको अध्यक्षता रहेको थियो भने खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालिदास भट्टराई, लेखा प्रमुख दीपक घिमिरेलगायत विशिष्ट अतिथिको उपस्थिति रहेको थियो।

प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडीहरूले विभिन्न उमेर समूह र तौल वर्गमा प्रतिस्पर्धा गरेका थिए। समापन समारोहमा विजयी खेलाडीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो।

संघले प्रतियोगिताको सफल आयोजनामा योगदान पुर्‍याउने सम्पूर्ण समिति सदस्य, निर्णायक मण्डल तथा खेलाडीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल खेल भविष्यको कामना गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *