खोटाङमा खेलकुद सरोकारवाला र स्थानीय तहबीच अन्तरक्रिया, खेलकुदले युवाको ऊर्जा सम्बोधन गर्छ: सदस्य सचिव बस्नेत

 

राजकुमार ओली, ३० वैशाख:खोटाङ,

जिल्ला खेलकुद विकास समिति खोटाङको आयोजनामा आज ‘खेलकुद सरोकारवाला, निजी क्षेत्र र स्थानीय तहसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम’ सम्पन्न भएको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव  कृष्ण बस्नेत (पर्शुराम) कार्यक्रमका प्रमुख अतिथि रहनु भएको थियो।

उहाँले खेलकुद क्षेत्रले युवाहरूको सकारात्मक ऊर्जा परिचालन गर्ने माध्यम भएको उल्लेख गर्दै सबै पक्षको सहकार्यमा जिल्लामा खेल पूर्वाधार तथा अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महेश राईको अध्यक्षता भएको कार्यक्रममा जिल्लामा सक्रिय खेलकुद संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, निजी क्षेत्रका अग्रज व्यक्तित्वहरूलगायतको सहभागिता थियो।

कार्यक्रममा प्रमुख अतिथि बस्नेतले भन्नुभयो, “खेलकुदले केवल प्रतिस्पर्धा मात्र होइन, अनुशासन, नेतृत्व र समर्पण सिकाउँछ। यसले युवाको ऊर्जा र प्रतिभालाई सहि दिशा दिने माध्यम हो।”

अन्तरक्रियामा सहभागीहरूले खोटाङमा खेल पूर्वाधारको अभाव, स्थानीय तहको कम लगानी, खेलकुदप्रति निजी क्षेत्रको चासो अभिवृद्धिलगायत विषयमा आफ्ना धारणा राखेका थिए। उनीहरूले जिल्ला स्तरमा खेलकुद योजनालाई प्राथमिकतामा राख्न प्रदेश सरकारसँग अनुरोध पनि गरेका थिए।

कार्यक्रमले जिल्लाको खेलकुद विकासका लागि स्थानीय तह, निजी क्षेत्र र सरोकारवाला निकायहरूबीच समन्वयको आवश्यकता औंल्याउँदै आगामी दिनमा नैतिक, भौतिक र संरचनागत रूपमा खेलकुद क्षेत्रलाई सबल बनाउने दिशा तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array