होनहार युवा विनोद बस्नेतको असामयिक निधन : सामाजिक सेवामा समर्पित जीवनको अन्त्य
झापा, बिर्तामोड — झापा र इलाम क्षेत्रमा सामाजिक सेवा, खेलकुद र मानवीय सहयोगमा सक्रिय एक होनहार युवा व्यक्तित्व विनोद बस्नेतको असामयिक निधनले सम्पूर्ण समुदाय स्तब्ध भएको छ। ‘अनन्तको यात्रामा’ नाम दिँदै सामाजिक सञ्जालमा उनका आफन्त, शुभेच्छुक र सहकर्मीहरूले मनको पीडा पोखिरहेका छन्।
विनोद बस्नेत बहुआयामिक व्यक्तित्व थिए। उनले सार्वजनिक जीवनमा सशक्त उपस्थिति जनाएका थिए — चाहे त्यो सामाजिक सेवा होस्, युवाहरूलाई खेलकुदमा उत्साहित गर्नु होस्, वा विपद्का बेला अग्रमोर्चामा रहेर सेवा गर्नु। उनी बिर्तामोड जेसिजका अध्यक्ष हुँदा एक साँझमै २२ लाख रुपैयाँ संकलन गरेर आदर्श नागरिक पुरस्कारस्वरूप धुर्मुस–सुन्तलीलाई हस्तान्तरण गरेका थिए, जसको प्रयोग बर्दिबासका मुसहर बस्तीमा घर निर्माणमा भयो।
०४५ सालको भूकम्पमा आफ्नै परिवारबाट ३० लाख बराबरका राहत सामग्री पीडितहरूमाझ पु¥याए। कोरोनाका कठिन घडीमा डायलाइसिस मेसिन र आवश्यक उपकरणहरू सहयोग गरेर धेरैको ज्यान बचाउन पनि उनले सक्रिय भूमिका खेले। उनको योगदान कहिल्यै देखावटी थिएन, न त प्रचारमुखी। सधैं सहयोगी भावना बोकेका विनोद जुनसुकै काममा पनि अग्रसर थिए — साना होस् वा ठूला।
उनले जीवनलाई कहिल्यै विश्राम दिएनन्। आफ्ना परिवार, मित्र र समुदायलाई सधैं साथ दिए। चिटिक्क सुसज्जित घर, आत्मीय परिवार, सामाजिक सञ्जाल, उदार मन — सबथोक थियो उनको जीवनमा, तर नियतिको लेखाइ अकल्पनीय हुन्छ।
शोकमा डुबेको बस्नेत परिवार
स्व. बस्नेतको असामयिक निधनले उनका माता, धर्मपत्नी, भाइहरू राजु र बिपिन, चिकित्सक छोरी तथा समस्त बस्नेत परिवारलाई गहिरो चोट पुर्याएको छ। “ऊ हाम्रो परिवारको रानो थियो। उसले पाएको योगदानका स्मृतिहरू सायद पूर्ण रूपमा कुनै एक व्यक्तिले भन्न सक्दैन,” एक आफन्तले भावुक हुँदै भने।
शब्दले बयान गर्न नसकिने क्षति
राष्ट्रिय सभाका सभासद माननीय गोपाल कुमार बस्नेतले पनि श्रद्धाञ्जली स्वरूप आफ्नो पीडा सार्वजनिक गर्दै भनेका छन्, “भतिज विनोदको बिदाइले मलाई गहिरो असमञ्जसमा पारेको छ। उनका कर्म र ऊर्जा सम्झेर पनि मन ढुक्क पार्न सकिन। ईश्वरसँग निरन्तर प्रार्थना गर्दछु कि परिवारजनलाई यो पीडा वहन गर्ने शक्ति मिलोस्।”
समाजले गुमायो एक सक्षम युवा नेतृत्व
विनोद बस्नेत अब यस लोकमा छैनन्, तर उनले छाडेका कर्म, योगदान र सम्झनाहरू समाजका लागि प्रेरणाको स्रोत बन्नेछन्। यस्तो व्यक्तित्वलाई सम्झन शब्द अपर्याप्त हुन्छन्, र सायद यही नै हो असल मानिसको चिनारी — जसको अनुपस्थितिमा समाज नै शून्यता महसुस गर्छ।
परमेश्वरले स्व. बस्नेतको आत्मालाई चिरशान्ति प्रदान गरून्। परिवारलाई हार्दिक समवेदना।
