राजकुमार ओली, ३१ वैशाख:, मेचीनगर
कुनै समय ‘पूर्वको हङकङ मार्केट’ भनेर चिनिएको झापा मेचीनगरस्थित धुलाबारी बजारबाट २७ अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गर्ने गिरोहको पर्दाफास भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले सात जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं लगेको छ।
पक्राउ पर्नेहरूमा कक्सि मारू, अनुज मारू, निर्मल राई, दिपेन्द्र खड्का, महेश पौडेल, अंकित अग्रवाल र सुनिल राई रहेका छन्। उनीहरू सबै धुलाबारी आसपासमा व्यापार व्यवसायको आवरणमा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
कसरी गर्थे अवैध हुण्डी कारोबार?
पक्राउ परेकाहरूले भारत, खाडी मुलुक र अन्य तेस्रो देशबाट अवैध रूपमा रकम ल्याउने र पठाउने कार्य गर्दै आएको प्रहरीले जनाएको छ। उनीहरूले स्थानीय सुनचाँदी, इलेक्ट्रोनिक्स र लत्ता कपडाको व्यवसायलाई आवरण बनाएर बैंक प्रणालीबाहिरकै लेनदेन प्रणालीमार्फत दैनिक करोडौँ रुपैयाँको कारोबार गरिरहेका थिए।
सूचनाअनुसार, गिरोहले ‘हवाला नेटवर्क’ मार्फत वैदेशिक मुद्राको सट्टा स्वदेशी रुपैयाँ सिधा ग्राहकको हातमा पुर्याउने कार्य गर्दै आएको थियो। यसरी हुण्डीमार्फत देशमा आउने विप्रेषण रकम बैंकमार्फत नआएपछि राष्ट्र बैंकको नियमन उल्लङ्घन हुने मात्र होइन, देशको समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा रहने विज्ञहरूको चेतावनी छ।
सीआईबीको लामो अनुसन्धानपछि गिरफ्तारी
यस गिरोहविरुद्ध सीआईबीले केही महिनादेखि निगरानी गर्दै आएको थियो। बैंक खाताको विवरण, सञ्चार माध्यमको ट्रेसिङ, डिजिटल कारोबारको अध्ययन र गोप्य सूचनाका आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
अहिलेसम्मकै ठुलो हुण्डी नेटवर्कमध्ये एक
सीआईबीका अनुसार पक्राउ परेकाहरूको संलग्नतामा पछिल्ला ३ वर्षमा करिब २७ अर्ब रुपैयाँभन्दा बढीको अवैध लेनदेन भएको देखिएको छ। अनुसन्धानमा थप सहयोगको लागि उनीहरूका मोबाइल, ल्यापटप, पासपोर्ट, व्यवसायिक कागजातहरू पनि जफत गरिएको छ।
अपराध नियन्त्रणमा प्रहरीले लिएको गम्भीरता
अवैध हुण्डी कारोबार देशको राजस्व अपचलन गर्ने, वैदेशिक मुद्रामा अनियमितता ल्याउने, र आपराधिक गिरोहहरूलाई सशक्त बनाउने प्रमुख माध्यम हो। यस्तो गिरोहविरुद्ध सीआईबीले कडाइका साथ अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकाहरूलाई मनी लन्ड्रिङ (हुनमानी कारोबार) ऐन र संगठित अपराधसम्बन्धी कानुनी धारामा अनुसन्धान अगाडि बढाइने बताइएको छ।
धुलाबारी बजारमा हुण्डी कारोबारको यस्तो सञ्जाल फुलिरहेको जानकारीले स्थानीय व्यापारी र जनसाधारणसमेत अचम्भित भएका छन्। यस्ता कार्यहरूलाई रोक्न व्यापक अनुगमन र कानुनी कारबाहीको मागसमेत स्थानीयस्तरबाट उठ्न थालेको थियो ।