“भद्रपुर साइक‌ल समाज” गठन : आन्तरिक पर्यटन, स्वच्छता र साइक‌ल संस्कृतिको प्रवर्द्धन मुख्य लक्ष्य

 

भद्रपुर, जेष्ठ १ —
भद्रपुर नगरपालिकाको ऐतिहासिक र धार्मिक स्थल कोसंयुक्तमा आज (बिहीबार) भद्रपुर साइक‌ल समाज (Bhadrapur Cycle Society) गठन गरिएको छ।

साइक‌ल संस्कृतिको प्रवर्द्धन, भद्रपुरका धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, स्वच्छ वातावरण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि यो संस्था सर्वसम्मत रूपमा गठन गरिएको हो।

भेला जेष्ठ सदस्य जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो, जसमा भद्रपुर क्षेत्रका विभिन्न वडाबाट सक्रिय साइक‌ल यात्रीहरू सहभागी थिए। भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ, जसमा थप २ सदस्य मनोनयन गरेर ११ सदस्यीय कार्यसमिति बनाइने निर्णय गरिएको छ।

तदर्थ समितिका पदाधिकारीहरू

तदर्थ समितिको अध्यक्षमा जीवनकुमार श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्ष जितु शर्मा, सचिव प्रवेश न्यौपाने, सह–सचिव सुजित वान्तवा राई, कोषाध्यक्ष देवीबहादुर श्रेष्ठ रहेका छन्। अन्य सदस्यमा उज्वल श्रेष्ठ, वेनम योङहाङ लिम्बु, यूभराज लावती र मुकेश दाहाल रहेका छन्।

सल्लाहकार समिति पनि गठन

संस्थामा मोहन महर्जन, टिकाराज ढकाल, मनोज सिंह, तिलकसिंह पाण्डे, यदुनाथ दाहाल, सुशिल धमला, भेषराज ढकाल, र दिपक तिम्सिना लगायत सल्लाहकारको रूपमा चयन गरिएको छ।

विश्व साइक‌ल दिवस र वातावरण दिवसमा र्‍यालीको तयारी

भेलाले जेष्ठ २० (जुन ३) का दिन विश्व साइक‌ल दिवस र जेष्ठ २२ (जुन ५) का दिन विश्व वातावरण दिवसको अवसरमा भद्रपुरका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरूमा सामूहिक साइक‌ल र्‍याली आयोजना गर्ने निर्णय गरेको छ। र्‍यालीमा नगरवासीको सक्रिय सहभागिताका लागि सार्वजनिक अपिल समेत गर्ने निर्णय भएको छ।

साइक‌लमैत्री नगरको परिकल्पना

संगठनले भद्रपुरमा साइक‌ल संस्कृतिको विकास, स्वच्छ वातावरण प्रवर्द्धन, पर्यटन प्रबर्द्धन, स्वास्थ्य र साइक‌ल प्रयोगकर्ताको अधिकार सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, नगरपालिकाको आगामी बजेट निर्माण प्रक्रिया आरम्भ हुने भएकाले प्रत्येक टोल र वडा स्तरका योजना छनोट भेलामा साइक‌लसम्बन्धी कार्यक्रम समावेश गराउन पहल गर्ने निर्णयसमेत भएको छ।

कार्यक्रममा साइक‌ल यात्री उज्वल श्रेष्ठ र जितु शर्माले शुभकामना मन्तव्य राखेका थिए भने प्रवेश न्यौपानेले उद्घोषणसहित साइक‌ल समाज गठनको औचित्य र महत्वबारे प्रकाश पारेका थिए। भेलाको समापन अध्यक्ष जीवनकुमार श्रेष्ठले गर्नुभएको थियो .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array