अर्जुनधारादेखि इटहरीसम्म सरकारी अधिकृत सस्मिता लुइटेलको ठगी धन्दा छताछुल्ल

राजकुमार ओली,, २ जेठबिर्तामोड झापा–

जनताको सेवा गर्ने जिम्मेवारी पाएकी सरकारी अधिकृत सस्मिता लुइटेल सर्वसाधारणलाई नै ठगी गरेर फरार बनेकी छिन्।

निजामती सेवाकी छैटौं तहकी शाखा अधिकृत लुइटेलले झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भई इटहरी उपमहानगरपालिका आएपछि सरकारी पहुँचको दुरुपयोग गर्दै करोडौं रुपैयाँ ठगिएको खुलेको छ। अर्जुनधारा नगरपालिकामा रहँदा समेत लुइटेलले करिब ३ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको देखिएको छ।

बिर्तामोड र दमकसम्मका व्यापारी व्यवसायी तथा विभिन्न व्यक्ति, विभिन्न बहानामा ठगिएको पाइएको हो। अर्जुनधरा वार्ड नं ७ का वडा सचिव रहँदा समेत लुइटेलले विभिन्न बहानामा करोडौं ठगेर गत असार अन्तिम हप्ता इटहरी सरुवा भएको बुझिएको छ।

इटहरीको वडा नं. १७ र २० मा सचिवको जिम्मेवारी सम्हाल्दै उनले सहकर्मी, व्यवसायी र सर्वसाधारणसँग पैसा उठाउने, विश्वास जित्न विभिन्न बहाना गर्ने, घरमै पुगेर आपत् परेको अभिनय गर्ने, र चेक दिएर ढुक्क पार्ने जस्ता तरिका अपनाएर ठूलो संख्यामा रकम संकलन गरेको पुष्टि भएको छ।

अर्जुनधारामा पनि उस्तै शैली

लुइटेलको ठगी यात्रा झापाको अर्जुनधारादेखि नै सुरु भएको बुझिएको छ। अर्जुनधारा नगरपालिकामा कार्यरत रहँदा उनले कार्यालय प्रमुखकै हस्ताक्षरको दुरुपयोग गरी राजस्वमा अनियमितता गरेको स्थानीय स्रोतहरू बताउँछन्। राजस्व खातामा पैसा जम्मा गर्ने र त्यसलाई अन्य खातामा ट्रान्सफर गराउने, मौखिक आश्वासनमा रकम उठाउनेजस्ता कार्यमा संलग्न रहेको आरोप छ।

स्थानीय एक व्यापारी भन्छन्, “अर्जुनधारामा रहँदा पनि उहाँले कर्मचारी र सेवाग्राहीसँग मिलेमतो गरी रकम उठाउने र पछि सम्पर्कविहीन हुने गरेको सुनिएको थियो। अहिले इटहरीमा त्यो ठगी यथार्थ सावित भयो।”

इटहरीमा खुल्यो ठगीको जालो

इटहरीमा आएपछि लुइटेलले स्थानीय व्यवसायी, कर्मचारी, व्यापारीहरूसँग करोडौं रुपैयाँ उठाएको उजुरीहरू सार्वजनिक भएका छन्। पीडितहरूमध्ये मोहन दंगालले नयाँ व्यवसाय सुरु गर्न लाग्दा सस्मितालाई विश्वास गरेर २.५ लाख रुपैयाँ दिएका थिए भने विपिन भट्टराईले खोलाको ठेक्काको बहानामा २४ लाख दिएका थिए। स्वास्थ्यकर्मी विकास पौडेलसमेत चार लाख ५० हजार ठगिएर चेक बाउन्स भएपछि प्रहरीमा पुगेका छन्।

इटहरी उपमहानगरपालिकाका कर्मचारी प्रशासन प्रमुख दीपक पौडेलका अनुसार सस्मिताविरुद्ध सयभन्दा बढी गुनासा दर्ता भइसकेका छन्। “कसैले ५ लाख गुमाए त कसैले १ करोडसम्म,” उनले बताए।

फरार सस्मिता : कानुनी कारवाहीको तयारी

पीडितहरूले अदालतमा मुद्दा दायर गरिसकेका छन्। अदालतले सस्मिताको तीन पुस्ते विवरण मागेको छ तर उपमहानगरपालिकाले हालसम्म विवरण दिन सकेको छैन। प्रहरी अनुसन्धान सुरु भए पनि सस्मिता सम्पर्कविहीन भएकाले अनुसन्धानमा ढिलाइ भएको इन्स्पेक्टर महेन्द्र पराजुलीले बताए। “पक्राउ अनुमति लिएर खोजीको प्रक्रिया अघि बढ्दैछ,” उनले भने।

९० दिनपछि ‘फरार’ घोषणा

इटहरीमा मौखिक बिदामा बसेकी सस्मिता ९० दिनभित्र कार्यालय नआए कानुनी रूपमा ‘फरार’ घोषणा गर्ने तयारी उपमहानगरपालिकाको छ। अदालतमा मुद्दा परेपनि उनले कार्यालयमा कुनै जानकारी दिएकी छैनन्। मोबाइल फोन पनि उठाउँदिनन् वा संक्षिप्त जवाफ दिएर सम्पर्कविहीन हुन्छिन्।

अर्जुनधारादेखि इटहरीसम्म सरकारी पदको आडमा ठगी गर्ने सस्मिता लुइटेलका गतिविधि सार्वजनिक भएसँगै पीडितहरू न्यायको खोजीमा छन्। अब अदालत र प्रहरीले चाँडो कदम चालेर उनीमाथि कारबाही अघि बढाउने जनअपेक्षा बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array