राजकुमार ओली, ३ जेठ: कन्काई
झापा कन्काई–८ लक्ष्मीपुरमा रहेको लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष मातृका ढुङ्गाना र सञ्चालक लक्ष्मी ढुङ्गानाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ।
कन्काईका ज्योति ओली, संगीता शाह, सप्तमुनि मुर्मु र रिता दाहाललगायत पीडितले आफ्ना लाखौं रुपैयाँको बचत फिर्ता नपाएको, सहकारी कार्यालय बन्द गरिएको र सञ्चालक सम्पर्कविहीन बनेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्। उनीहरूका अनुसार ओलीको २२ लाख, शाहको ६ लाख, मुर्मुको ३ लाख ५ हजार र दाहालको २ लाख ८ हजार रुपैयाँ फिर्ता नदिइ सहकारी सञ्चालक परिवार फरार भएको हो ।
पीडितहरूका उजुरीपछि इलाका प्रहरी कार्यालय अनारमनीले ढुङ्गाना परिवारलाई बयानका लागि बोलाएको छ। प्रहरीका अनुसार शनिबारसम्ममा उनीहरू प्रहरीसमक्ष उपस्थित हुने जानकारी आएको छ।
यसबीच अध्यक्ष मातृका ढुङ्गानाले पूर्वखबरसँगको कुराकानीमा आफूहरू कुनै पनि रकम लिएर फरार नभएको दाबी गर्दै भने, “सहकारीको कार्यालय मेरो घरमै थियो। अहिले बन्द भए पनि ६ महिनाभित्र सबै व्यवहार मिलाएर पुनः सहकारी सञ्चालन गर्ने लक्ष्य छ।”
उनका अनुसार सहकारीमा १ करोड १० लाखभन्दा बढी लगानी रहेको र ५६ लाख ऋण मात्रै बाँकी रहेकोले बजारको पैसा उठाएर सबैको बचत फिर्ता गर्ने तयारी भइरहेको छ। उनले थपे, “हामी कसैको पैसा खाएर भागेका होइनौं, तर अवस्था बाध्यताजनक थियो।
तर पीडितहरूले भने ढुङ्गानाको व्यवहारप्रति गुनासो गर्दै आएका छन्। “फोन अफ गर्छन्, माग्दा गाली गर्छन्। पैसा डुब्ने डर भएपछि प्रहरीको सहायता लिनुपर्यो,” पीडित लक्ष्मी ओलीले भनिन्। अन्य पीडितहरूले पनि आफूहरूलाई पटक–पटक झुक्याएर समय बिताइएको आरोप लगाएका छन्।
यो घटनासँगै झापा जिल्लामा सहकारी संस्थाहरूमा देखिएको कमजोरी पुनः सतहमा आएको छ। पछिल्लो समय झापामा दर्जनौं सहकारी संस्थाहरूले बचतकर्ता तथा सेयर सदस्यहरूसँग संकलन गरेको रकम फिर्ता गर्न नसकेर विवादमा तानिएका छन्। अनियमित लेखापरीक्षण, निगरानी अभाव, नेतृत्वको जवाफदेहीहीनता, र सामाजिक सम्बन्धको नाममा सञ्चालन हुने सहकारीहरू आज संकटमा देखिन थालेका छन्।
सहकारी ऐनले स्पष्ट व्यवस्था गरे पनि कार्यान्वयनमा कमजोर भएको, समयमै लेखा परीक्षण र सरकारी नियमन नगरेको कारण सहकारीमा आमजनताको विश्वास खस्किरहेको छ। यसैबीच अनियमित सहकारी सञ्चालकविरुद्ध प्रहरीको सक्रियता भने बढ्दै गएको छ।
सहकारी मार्फत ठगिएकाहरूले राज्य संयन्त्रसँग न्यायको माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्। उनीहरूले सहकारीको नाममा हुने आर्थिक अपराधमाथि तत्काल अनुसन्धान गरी दोषीमाथि कडाइ गर्न माग गरेका छन्।