झापामा १६ वर्षीय किशोर दुई दिनदेखि बेपत्ता, परिवारको रुवाबासी– ‘घर फर्क प्रचिन’

 

झापा, जेठ ४ –
झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेका १६ वर्षीय किशोर प्रचिन लुइटेल आइतबार दिउँसोदेखि बेपत्ता छन्।

झिलझिले माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी प्रचिन पछिल्ला दुई दिनदेखि परिवार, प्रहरी र आफन्तको खोजी प्रयासका बावजुद पनि फेला परेका छैनन्।

शनिबार दिदी पुष्पा लुइटेलसँग काँकरभिट्टाको बर्मेली टोल गएका उनी आइतबार दिउँसो घरबाट निस्किएपछि सम्पर्कविहीन भएका हुन्। प्रचिनकी दिदीले भनिन्, “भाइलाई म आफूसँगै लिएर गएकी थिएँ। केही सामान किन्न बाहिरिँदा म उनलाई ठूली मम्मीको घरमा छोडेकी थिएँ। उनी शौचालय जान्छु भनेर निस्किएपछि फर्किएनन्।”

घरमा नफर्किएपछि आफन्त, छिमेकी र स्थानीयको सहयोगमा काँकरभिट्टा क्षेत्रका गल्ली–गल्ली, पार्क, बजार र बसपार्कसम्म खुट्टा टेकिए पनि प्रचिनको अत्तोपत्तो लागेको छैन। स्थानीय प्रहरीको सहयोगमा सीसी क्यामेरा फुटेज विश्लेषण गरिए पनि उनी कहाँ गए भन्ने यकिन हुन सकेको छैन।

बाल मनोविज्ञानको संवेदनशील पाटो

किशोर प्रचिनको पारिवारिक अवस्था पनि पीडादायी छ। आमाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने बाबु वैदेशिक रोजगारीमा छन्। उनी दिदी पुष्पासँगै बस्दै आएका थिए। यस्ता अवस्थामा किशोर मानसिक रूपमा समेत संवेदनशील अवस्थामा रहेको हुनसक्ने अनुमान गरिएको छ।

प्रचिन बेपत्ता भएको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टा, झिलझिले र जिल्ला प्रहरी कार्यालय झापामा परिवारले लिखित उजुरी दिएको छ। प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले भने, “हामीले समग्र इकाइमा सूचना पठाइसकेका छौं। खोजीलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ।

किशोर बालबालिका हराउने समस्या नेपालको बढ्दो सामाजिक चुनौती बन्दै गएको छ। गत वर्ष मात्रै दर्जनौं बालबालिका हराएका र केही अझै फेला नपरेको तथ्यांकले देखाउँछ। यस घटनाले फेरि एकपटक अभिभावक, समुदाय र राज्यका निकायलाई बाल संरक्षणमा गम्भीर बन्न आग्रह गरिरहेको छ

प्रचिनका आफन्त, स्थानीय समाजसेवी र पत्रकारहरूले पनि सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत उनको सकुशल फिर्तीका लागि अपिल गरिरहेका छन्। दिदी पुष्पाले आँखाभरि आँसु पार्दै भनिन्, “केही गल्ती भएको भए पनि फर्क फर्क प्रचिन, सबै तिमीलाई पर्खिरहेका छौं।”

कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा सम्पर्क गर्न, अथवा ९८१२३४५६७८ नम्बरमा फोन गर्न परिवारले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array