बिर्तामोड, झापा
झापाको बिर्तामोडस्थित नयाँ बसपार्क क्षेत्रमा पछिल्लो समय खुलेआम यौन व्यवसाय फस्टाउँदै गएको देखिएको छ।
बसपार्क क्षेत्रमा बिना अनुमति सञ्चालनमा आएका होटलहरूमा इलाम, ताप्लेजुङ देखि बुटवल, रामेछाप, सिन्धुलीलगायतका जिल्लाबाट ल्याइएका युवतीहरू राखेर व्यवसाय सञ्चालन भइरहेको पाइएको छ।
स्थानीयवासीका अनुसार केही होटलहरू रातिको समयमा मात्र होइन, दिउँसोसमेत यौन धन्दा सञ्चालनका लागि प्रयोग गरिन्छन्। यस्ता होटलहरू सामान्य पाहुनाका लागि नभई विशेष ‘क्लाइन्ट’ लक्षित बनाइएको संकेत देखिन्छ।
पहाडबाट काम विशेषलेका र काम गर्न बिर्तामोडमा आएका मानिसहरू समेत नयाँ बसपार्कका होटलमा यौन सेवा दिनको लागि आउने गरेको देखिएको छ ।
बिना दर्ता होटल, खुला अवैधता
नयाँ बसपार्क क्षेत्रमा सञ्चालित केही होटलहरू स्थानीय सरकार वा पर्यटन विभागमा दर्ता नगरी सञ्चालनमा आएको समेत भेटिएको छ। यो विषयमा सरोकारवालाको ध्यान गएको देखिएन।। यस्ता होटलहरू आवासीय कोठाको रूपमा भाडामा लिएर सञ्चालन हुँदै आएका छन्। होटल व्यवसायी सङ्घ झापाका महासचिव शिव पौडेलले भनेका छन्, “बसपार्क क्षेत्रमा यौनधन्दा सञ्चालन हुने होटलको संख्या छैन भन्ने हाम्रो ठहर छ, तर यदि अवैध गतिविधि भएको प्रमाणित भयो भने कारबाहीमा सघाउन तयार छौं।”पौडेल समेत नयाँ बसपार्क भित्रै होटल व्यवसाय गर्दै आएका व्यवसायी हुन्। पौडेलले यस्ता घटना थाहा पाए कडाई कारबाही गर्न आफ्नो तयार भएको तर होटलहरूमा यस्तो धन्दा नहुने दाबी गर्नुभएको छ।
प्रहरीको कडाइ : तीन नगर, एक रणनीति
जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो समय मेचीनगर, बिर्तामोड र दमकका बसपार्क क्षेत्रमा यौनधन्दा र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष ‘एक्सन मोड’ सुरु गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार, ” तीन मुख्य बसपार्क क्षेत्रलाई निगरानीमा राखेका छौं। यौनधन्दा, लागूपदार्थ कारोबार र ठगीका घटनालाई रोक्न विशेष सुराकी संजाल परिचालन गरिएको छ।”
उनले थपे, “हामी होटल सञ्चालकसँग पनि नियमित छलफलमा छौं। अबदेखि अनुमति बिना सञ्चालित होटल, रूम, लजहरूलाई बन्द गरिनेछ।”
सामाजिक चिन्ता, प्रशासनिक चुनौती
बसपार्क क्षेत्रमा यौन व्यवसाय मात्र होइन, लागूपदार्थ, चोरी, जबरजस्ती करणीको प्रयास र समूहगत अपराधको समेत जोखिम रहेको स्थानीय समुदायले बताउँदै आएका छन्।
बिर्तामोड नगरपालिका, वडा नं. ४ वडा अध्यक्ष राहुल शर्माका अनुसार, “नगरपालिकाले पटक पटक होटल व्यवसायीहरूलाई जानकारी तर निगरानी र व्यवस्थापन अझ कडाइका साथ गर्न आवश्यकता खड्किएको बताउनुभएको छ। बिर्तामोडका मुख्य बजारका क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउन प्रशासन, प्रहरी र स्थानीय तह मिलेर काम गर्नु जरुरी छ।”
समाप्ति : सुधारको अपेक्षा
एकातर्फ आधुनिक बसपार्क र सुगम यातायात सेवा निर्माण गर्ने सपना देखिँदैछ, अर्कातर्फ यौन धन्दा, अवैध गतिविधि र अपराधको बिस्तारसँगै बिर्तामोडको नाम बदनाम भइरहेको छ।
अब बिर्तामोड नगरपालिका र अर्जुनधरा नगरपालिका मिलेर नयाँ बसपार्कका समस्यालाई नजिकका स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजले मिलेर यो समस्याको समाधान खोज्नेतर्फ गम्भीरता देखाउनु जरुरी भएको छ। बसपार्क क्षेत्र व्यापारिक मात्र होइन, सामाजिक र नैतिक अनुशासनको घेरामा पनि पर्नुपर्छ — किनभने शहरको अनुहार त्यही हो जहाँ आगन्तुक पहिलो पाइला राख्छन्।