काँकरभिट्टा नाकाबाट ३ करोडको कृषि औजार तस्करी: सुरक्षा घेरामै त्रुटि कि मिलेमतो?

राजकुमार ओली,५जेठ: झापा, 

भारतसँगको सीमामा रहेको काँकरभिट्टा नाका तैनाथ सुरक्षा संयन्त्र र भन्सार चेकजाँचको कडाइबीच पनि तस्करी रोकिएको छैन।

आइतवार राति भारतबाट नेपाल छिरेका तीनवटा भारतीय कन्टेनर विर्तामोडमा प्रहरीले नियन्त्रणमा लिएपछि पुनः एकपटक सीमा सुरक्षा प्रणालीप्रति प्रश्न उठेको छ।

सुरक्षाको सञ्जाल
काँकरभिट्टा भन्सारमा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल र भन्सार कर्मचारी निरन्तर खटिएका हुन्छन्।

त्यसको केही पर नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय रहेको छ। अझ वर जोरसिमलमा सशस्त्र प्रहरीको अर्को चेकपोस्ट, धुलाबारी र चारआली क्षेत्रमा नेपाल प्रहरीको टोली राजमार्गमै २४ सै घण्टा तैनाथ छ।

भारत–पाकिस्तानबीच तनाव बढेको बेला त चेकजाँच अझ कडा पारिएको बताइएको थियो।

त्यति धेरै चेकपोस्ट छलेर तस्करी कसरी?

तर यति धेरै सुरक्षाकर्मीहरूको उपस्थितिसँगै आइतवार राति भारतबाट छिरेका तीनवटा भारतीय कन्टेनरहरु काँकरभिट्टा भन्सार नाकामै कुनै चेकजाँचबिना निर्वाध रुपमा विर्तामोडसम्म आइपुगे। राति ७ बजे मात्र विर्तामोड–५ स्थित पूर्वपश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ती कन्टेनर चेकजाँच गर्दा तस्करी खुलेको हो।

झापा प्रहरीले बरामद गर्‍यो अबैध सामान
चेकजाँचका क्रममा तीनवटा कन्टेनरमा लुकाइराखिएका कृषि औजारहरु फेला परेका छन्, जसको अनुमानित बजार मूल्य रु. ३ करोड ६१ लाख बराबर छ। बरामद गरिएको कन्टेनरहरूमध्ये

  • एनएल ०१ एएच ५६७९
  • एनएल ०१ एन ९२२३
  • एनएल ०२ एल ७४८६
    नम्बर प्लेट भएका गाडीहरु नागाल्यान्डबाट आएका हुन्।

राजस्व अनुसन्धानको जिम्मा
बरामद सामग्री र कन्टेनरहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी पठाएको जानकारी दिएको छ।

मिलेमतोको आशंका
यो घटनापछि काँकरभिट्टा भन्सारमा तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीको भूमिका शंकाको घेरामा परेको छ।

यति धेरै सुरक्षा चेकपोस्ट छलेर यत्रो परिमाणमा अवैध सामान भित्रिनु तस्करसँग मिलेमतो भएको संकेत हो भन्ने स्थानीयको ठम्याइ छ।

तस्करीको पुराना उदाहरणहरू पनि छन्
मेची भन्सार क्षेत्रमा यसअघि पनि यस्ता घटना भइरहेका थिए:

  1. २०७९ साल माघ महिनामा — दुई वटा ट्रकमार्फत भित्रिएको पाँच करोड बराबरको विद्युतीय सामान बिर्तामोडमा मात्र रोकिएको थियो।
  2. २०७८ साल चैतमा — काँकरभिट्टा हुँदै आएका बसबाट करिब ५० लाख बराबरको मोबाइल सेट बिनाजाँच भित्रिएको थियो।
  3. २०७७ फागुनमा — झापाको चारआलीमा चेकजाँच गर्ने क्रममा दुई करोड मूल्य बराबरको सिगरेट पक्राउ परेको थियो, जुन पनि भन्सार चेक नगरी भित्रिएको थियो।

बारम्बार यस्ता घटना हुँदा पनि सम्बन्धित निकायले छानबिनमा ठोस कदम नउठाउँदा तस्करी मौलाउँदै गएको देखिन्छ। सीमा सुरक्षाका लागि खटिएका सुरक्षा निकाय र भन्सार प्रशासनबीच समन्वयको कमी, वा मिलेमतो — दुवै पक्षको गम्भीर छानबिन आवश्यक देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array