निर्मल भट्टराईको जन्मदिनमा सामाजिक उच्चदायित्वको नयाँ अध्याय

राजकुमार ओली, ११ जेठ, बिर्तामोड

बिर्तामोडका युवा व्यवसायी तथा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले आफ्नो जन्मदिनलाई समाजसेवा र मानवीय सहयोगको नयाँ शैलीमा मनाएर उदाहरणीय भूमिका निर्वाह गरेका छन्।KO

जहाँ धेरै मानिसहरू आफ्नो जन्मदिनमा पार्टी, भोज, र रमाइलोमा रमाउने चलनमा लाग्छन्, भट्टराईले भने जन्मदिनलाई परोपकार र सामाजिक उत्थानको अवसरको रूपमा उपयोग गरेका छन्। उनले बिर्तामोड–५ मा रहेको बोनम्यारो क्यान्सर पीडित चार वर्षीय उज्ज्वल ठाकुरको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। ठाकुरका पिता मुकेश ठाकुर विगत दुई वर्षदेखि छोराको उपचारमा नेपाल र भारतको चेन्नईमा प्रयासरत छन्।

यसै अवसरमा, भट्टराईले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा ५१ हजार रुपैयाँको योगदान गरेका छन्। संघको कार्यालयमा आयोजित कार्यक्रममा उनले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरे। “कोषमा १ करोड रुपैयाँ नपुग्दासम्म म प्रत्येक वर्ष आफ्नो जन्मदिनमा योगदान गर्दै जानेछु,” भट्टराईले प्रतिवद्धता जनाए।

संघले स्थापना गरेको यो कोष एक प्रकारको अक्षयकोष हो, जसको उद्देश्य व्यवसायीहरूलाई आपतकालिन संकट र विपत्तिको समयमा सहयोग गर्नु हो।

संकलित रकम पूँजीका रूपमा राखिनेछ र ब्याज वा लाभांशको रकम आपतकालिन राहतमा खर्च गरिनेछ। हालसम्म कोषमा झण्डै २० लाख रुपैयाँ संकलन भइसकेको छ भने अन्य व्यवसायीहरूबाट पनि योगदानको क्रम जारी छ।

भट्टराईको जन्मदिनमा मात्र राहत कोष र क्यान्सर पीडितका लागि मात्र होइन, सामाजिक उत्थानका अन्य कार्यमा पनि उल्लेखनीय सहयोग पुगेको छ। उनले स्वच्छ समाज अभियानलाई समेत २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका छन्। यो रकम सडक बालबालिका र अनाथहरूको निमित्त निर्माणाधीन आश्रमको लागि हो। आश्रम निर्माण अभियानका अगुवा गणेश ढुङ्गाना र शेरबहादुर थापालाई सहयोग हस्तान्तरण गर्दै भट्टराईले बिर्तामोड र आसपासका क्षेत्रका सडक, प्लास्टिक तथा फोहोरमैला संकलनबाट समाजको रुपान्तरण अभियानमा संलग्न सामाजिक अभियन्ताहरूको कामको प्रशंसा गरे।

यही कार्यक्रममा उनले अर्जुनधारा–११ मा सवा दुई कट्ठा जमिन किनेको समाजका लागि थप एक धुर जमिन (७१ हजार रुपैयाँ बराबर) सहयोग गर्ने घोषणा गरेका छन्। यसले सामाजिक उत्थानको अभियानलाई अझ मजबुत बनाएको छ।

संघका अध्यक्ष राजु न्यौपानेले भने, “भट्टराईको यो योगदानले व्यवसायीकै मात्र नभएर सामाजिक जागरण र परोपकारको क्षेत्रमा पनि नयाँ आशा जगाएको छ। अन्य व्यवसायीहरूलाई पनि यस्तो उदाहरणीय योगदानको बाटो देखाउनेछ।”

निर्मल भट्टराईको जन्मदिनको यो सामाजिक उच्चदायित्वले देखाउँछ– यदि हरेक व्यक्तिले आफ्नो खुशीका क्षणलाई परोपकारमा खर्च गरे भने समाजले नयाँ दिशा लिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array