त्रिलोचन ओली ,११ जेठ:काठमाडौँ।
– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो लगानीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत हल्ला फिँजाएको आरोप लगाउनुभएको छ।
आइतबार काठमाडौंमा आयोजित बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको उक्त हल्लापछि माधवकुमार नेपाल र झलनाथ खनाल समेत लागेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “कम्बोडियामा मेरो ३२ अर्ब रुपैयाँ लगानी छ भन्ने हल्ला फैलाउने प्रचण्ड हो। यस हल्लापछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनाल हुन्। यी नेताहरूले पार्टी प्रमुख हुँदा प्रभावकारी रूपमा चलाउन सकेनन्। पछि पार्टी कब्जामा लिन खोजे। हामीले निकम्ब, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ पार्टी अगाडि बढाइरहेका छौं। त्यसैले यस्ता तत्वहरू हामीविरुद्ध षड्यन्त्रमा लागेका छन्।”
प्रधानमन्त्री ओलीले देशी–विदेशी प्रक्रियावादीहरूले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउँदै त्यस्ता षड्यन्त्रमा सजग रहन र आपसी द्वन्द्व तथा खिचातानीमा नफस्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको उल्लेख गर्दै ओलीले प्रतिगामी तत्त्वहरूले जेठ १५ गतेको प्रदर्शनलाई लिएर भ्रम फैलाउन खोजिरहेको बताउनुभएको हो।
। “लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरूले फैलाउने भ्रम चिर्नुपर्छ। एमालेको मनोबल गिराउनु हुँदैन,” प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले प्रतिगामी तत्वहरूको आन्दोलनको विपक्षमा तयारीमा रहन पनि निर्देशन समेत दिनुभएको छ।