अब्बल गोलरक्षक मीन बस्नेत साफ यु–२० महिला च्याम्पियनशिपको प्रशिक्षक नियुक्त

राजकुमार ओली, ११जेठ:काँकरभिट्टा, झापा

झापाका फुटबलप्रेमीहरूका लागि एक गर्वको खबर! काँकरभिट्टाका चर्चित गोलरक्षक तथा राष्ट्रिय टोलीका पूर्वखेलाडी मीनबहादुर बस्नेतलाई आगामी साफ यु–२० महिला च्याम्पियनशिप प्रतियोगिताका लागि नेपालको गोलरक्षक प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आज औपचारिक रूपमा बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। यो प्रतियोगिता आगामी जुलाई ११ देखि २१ सम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुँदैछ।

बस्नेतको फुटबल यात्राले नेपालको फुटबल क्षेत्रमा महत्वपूर्ण छाप छोडेको छ। उहाँले राष्ट्रिय टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा गोलरक्षकको भूमिकामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित तुल्याउनु भएको छ। झापा जिल्लाबाट नेपाली राष्ट्रिय टोलीमा पुग्न सफल बस्नेत झापाको खेलकुद क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ।

उहाँले झापामा फुटबल विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै युवा खेलाडीहरूलाई तालिम दिने काममा समेत महत्वपूर्ण भूमिका खेल्नु भएको छ। उहाँको नेतृत्वमा झापामा गोलरक्षक प्रशिक्षणमा उल्लेखनीय सुधार देखिएको छ, जसको प्रतिफलस्वरूप धेरै युवाहरू फुटबलमा प्रेरित भएका छन्।

एन्फाद्वारा बस्नेतको नियुक्तिले नेपालको महिला फुटबलमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ। उहाँको अनुभव, सीप र प्रतिबद्धताले यु–२० महिला टोलीलाई आगामी साफ च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

झापामा मात्रै नभई देशभर फुटबलप्रेमीहरूका लागि यो खबरले उत्साह थपेको छ। बस्नेतले झापाबाट सुरु भएको आफ्नो यात्रा आज देशकै सम्मानित प्रशिक्षकको भूमिकामा रूपान्तरण गर्नु भनेको नेपालको फुटबलको विकास यात्रा नै हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array