ईन्जिनियर्स एशोसिएसनलाइ खड्का परिवारले गरे जग्गा दान

बिर्तामोड – नेपाल ईन्जिनियर्स एशोसिएसन (NEA) ले बिर्तामोडमा आफ्नै भवन निर्माणको सपना साकार पार्ने दिशामा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

आज बिर्तामोड नगरपालिका–३ मा रहेको ११.७५ धुर जग्गा समाजसेवी ठकबहादुर खड्काको परिवारले आफ्नी छोरी स्व. सिन्धु खड्काको स्मृतिमा नेपाल ईन्जिनियर्स एशोसिएसनलाई निःशुल्क रुपमा हस्तान्तरण गरेपछि भवन बन्ने बाटो खुल्ला भएको हो।।

जग्गा दानसँगै NEA बिर्तामोड केन्द्रको भवन निर्माण कार्यको बाटो खुलेको छ।

भद्रपुर मालपोत कार्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममा, जग्गा दाताको तर्फबाट श्रीमती तारा खड्काले नेपाल ईन्जिनियर्स एशोसिएसनका केन्द्रीय कोषाध्यक्ष इन्जिनियर सुमन थापालाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्नुभयो। यस अवसरमा NEA का अन्य पदाधिकारीहरु, ईन्जिनियर समुदायका अगुवाहरु र स्थानीय समाजसेवीहरुको उल्लेखनीय उपस्थिति थियो।

स्व. सिन्धु खड्काको सम्झनामा प्रदान गरिएको यो जग्गा सामाजिक उत्तरदायित्व र ईन्जिनियरिङ पेशाको सम्मानमा एक प्रेरणादायक उदाहरण बनेको छ। समाजसेवी ठकबहादुर खड्काको परिवारले स्व. सिन्धुको स्मृतिमा यो योगदान गर्दै इन्जिनियर समाजको शशक्तिकरण र विकासमा सघाएको भन्दै NEA ले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

नेपाल ईन्जिनियर्स एशोसिएसनका पदाधिकारीहरुले आफ्नो भवनको आवश्यकता र महत्वबारे चर्चा गर्दै भने, “बिर्तामोडको केन्द्रमा आफ्नै भवन हुनु NEA का लागि मात्र होइन, सम्पूर्ण ईन्जिनियर समुदायको लागि गर्वको विषय हो। यसले पेशागत विकास, तालिम, गोष्ठी तथा अन्य गतिविधिहरु सञ्चालनमा सहजता ल्याउनेछ।”

भवनको प्रारम्भिक योजना अनुसार, बिर्तामोड केन्द्रमा आधुनिक प्रविधियुक्त बहुउद्देश्यीय भवन निर्माण गरिनेछ, जसमा तालिम कक्ष, सम्मेलन हल, पुस्तकालय तथा सदस्यहरुलाई आवश्यक पर्ने विभिन्न सुविधा रहनेछन्। भवनको डिजाईन तथा निर्माण प्रक्रिया चाँडै अघि बढाइने NEAका इन्जिनियर उत्तम खरेलले पूर्व खबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array