जीवन र मरणको दोसाँधमा निश्चल भण्डारी : बाँच्न चाहन्छन्, तर आर्थिक अभावको पीडा

 

राजकुमार ओली,१४जेठ: अर्जुनधारा

बिर्तामोड १ का स्थायी बासिन्दा निश्चल भण्डारी (२४ वर्ष) अहिले जीवन र मरणको दोसाँधमा संघर्षरत छन्। कमजोर आर्थिक अवस्था, उपचारका लागि विदेशको यात्रा, र रोगसँगको लडाइँले उनको परिवारलाई थलाइदिएको छ।

आर्थिक अभावकै कारण वैदेशिक रोजगारीका लागि युएई गएका निश्चलको प्रारम्भिक स्वास्थ्य परीक्षणमा सामान्य समस्या देखिएको थियो। बिर्तामोडको सञ्जीवनी अस्पतालमा उपचार गराएर निको भएका उनी विदेश पुगेपछि युएईको कम्पनीको मेडिकल परीक्षणमा ‘कालो टिबी’ देखिएको कारणले स्वदेश फर्किन बाध्य भए।

घर फर्किएपछि  उनको स्वास्थ्य स्थिति अत्यन्तै चिन्ताजनक छ। गोरो अनुहार कालो हुँदै गएको, शरीर सुक्दै गएको, आँखा धमिलो हुँदै गइरहेको र सास फेर्नसमेत गाह्रो भइरहेको छ। निश्चल भन्छन्, “मलाई बाँच्न मन लागेको छ, तर फोक्सो बिग्रिएको छ, बोल्न गाह्रो भइरहेको छ।”

निश्चलको परिवार आर्थिक अभावकै कारण बाल्मिक स्कुल छेउको घरजग्गा बेचेर अर्जुनधारा ९ स्थित कटहरडाँगीमा भाडामा सरेको छ। आमा चित्रा भण्डारी अर्जुनधारा नगरपालिकाको पशु कार्यालय अगाडिको सानो कोठामा चिया पसल चलाउँदै परिवारको जीविकोपार्जन गरिरहेकी छन्। श्रीमान सानो गाडी चलाएर जीवनयापन गरिरहेका छन्। एउटै छोरा निश्चलको स्वास्थ्य बिग्रिँदा आमा चित्राको मन भारी छ। उनी भन्छिन्, “सक्दो प्रयास गरिरहेका छौँ, तर आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न गाह्रो भयो।”

निश्चल हाल बिर्तामोड को नगर अस्पतालमा औषधि सेवन गर्दै छन्। उनी भन्छन्, “बुवाआमाको एउटै छोरा भएर सेवा गर्ने सपना थियो, तर अहिले आफैँ सेवा र उपचारका लागि संघर्ष गर्दै छु।”

निश्चल भण्डारीको कथा केवल एक परिवारको संघर्ष मात्र होइन, आर्थिक अभाव, स्वास्थ्य सेवा पहुँचको अभाव र युवाहरूको भविष्यको यथार्थ कथा पनि हो। यस्ता पीडित युवाहरूको उपचार र जीवनरक्षाका लागि समाज, सरकार, निजी क्षेत्र र दाताहरूको सहयोग आवश्यक देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array