राजकुमार ओली।,१६जेठ: बिर्तामोड
सिम्रिक साकोस सहकारी संस्था लिमिटेड बिर्तामोडले सहकारी व्यवस्थापन क्षमता अभिवृद्धि तथा करसम्बन्धी अभिमुखीकरण तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक सहकारीले आयोजना गरेको तालिमको उद्घाटन सत्रमा कोशी प्रदेश सहकारी रजिस्टार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीले सहकारी व्यवस्थापनका समस्याहरू र समाधानका उपाय तथा करसम्बन्धी महत्त्वपूर्ण पक्षहरूबारे सहजीकरण गर्नुभएको हो ।उहाँले सहकारी क्षेत्रको व्यवस्थित विकासका लागि दक्ष व्यवस्थापनको आवश्यकता औँल्याउँदै सहकारीकर्मीहरूलाई नीति, नियम र कानुनी संरचनाको राम्रो ज्ञान हुनुपर्नेमा जोड दिनुभयो।
तालिममा कार्यालयका अधिकृत मनोज कार्कीले झापा, मोरङ, इलाम र पाँचथर जिल्लाका सहकारीकर्मीहरूलाई करसम्बन्धी चुनौतीहरू, सहकारीमा देखिएका समस्या, नयाँ सहकारी ऐन र त्यसको प्रभावबारे प्रशिक्षण दिनुभयो। उहाँले सहकारीहरूको स्थायित्वका लागि आर्थिक अनुशासन, पारदर्शिता र सदस्यहरूको सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
सिम्रिक साकोस सहकारीका अध्यक्ष सुभाष भट्टराईले हाल संस्था कोशी प्रदेशकै उत्कृष्ट १० सहकारीमध्ये पर्ने सफल सहकारी भएको बताउनुभयो। उहाँका अनुसार सहकारीले ६८ हजार सेयर सदस्यहरूबाट रकम संकलन गर्दै झापा, इलाम, पाँचथर र मोरङका ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ। सहकारीको हालसम्मको बासलात रु ३ अर्ब ३२ करोड रहेको र २ सय ७७ जना कर्मचारीमार्फत सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा सहकारीका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या, चुनौती र नयाँ सहकारी ऐनका प्रावधानअनुसार कसरी काम गर्ने भन्नेबारे आफ्ना कर्मचारी र सेयरधनीहरूलाई प्रशिक्षण दिनुभएको थियो। तालिममा सहकारीका जनसम्पर्क अधिकारी विजय बस्नेतले सहजीकरण गर्नुभएको थियो।
सहकारी व्यवस्थापन र करसम्बन्धी ज्ञान अभिवृद्धिका लागि आयोजित यो तालिमले सहकारीकर्मीहरूलाई अझ दक्ष र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।