भिमा मैनाली, केन्द्रीय चलचित्र जाँच समिति सदस्यमा नियुक्त, दुई दशकको योगदानको औपचारिक सम्मान

काठमाडौँ, २२ जेठ

लामो समयदेखि रिक्त रहेको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले नयाँ सदस्यहरूको नियुक्तिसँगै पूर्णता पाएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार वरिष्ठ कला पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनाली बोर्ड सदस्यमा नियुक्त भएका हुन्।

चलचित्रको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएकी मैनालीको यो नियुक्ति नेपाली सिनेमामा उनको योगदानप्रतिको औपचारिक कदरको रूपमा हेरिएको छ। कलाकार, लेखक तथा निर्देशकका रूपमा स्थापित मैनालीले यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा समेत आवेदन दिएकी थिइन्।

नारी सहभागिता र समावेशितामा सशक्त उदाहरण

चलचित्र सम्बन्धी विषयमा विशेष ज्ञान भएका व्यक्तिहरूमध्ये कम्तीमा एक जना महिला सदस्य अनिवार्य रहने कानुनी व्यवस्थाअनुसार मैनालीको चयन भएको हो। उनको अनुभव र सशक्त उपस्थितिले बोर्डमा महिलाको प्रतिनिधित्व मात्र नभई समावेशी दृष्टिकोणलाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ।

कसरी बन्छ सेन्सर बोर्ड?

नेपाल सरकारको चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ अनुसार केन्द्रीय चलचित्र जाँच समिति गठन हुने गर्छ। यस समितिमा मन्त्रालयका सहसचिव अध्यक्ष रहने व्यवस्था छ भने गृह मन्त्रालय, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र चलचित्र विकास बोर्डका प्रतिनिधिहरू सदस्य हुने गर्छन्। तीन जना विज्ञ सदस्यहरूमा मैनाली र गिरीको हालैको नियुक्तिसँगै समिति पूर्ण बनेको हो।

चलचित्र क्षेत्रको नियमनमा सक्रिय भूमिका

यस समितिले नेपालमा प्रदर्शन गरिने स्वदेशी तथा विदेशी चलचित्रको जाँच गरी प्रमाणपत्र जारी गर्ने जिम्मेवारी वहन गर्छ। चलचित्र क्षेत्रको स्वस्थ विकास तथा सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न समिति महत्वपूर्ण निकायका रूपमा क्रियाशील रहँदै आएको छ।

साधनाको कदर

भीमा मैनालीको नियुक्ति केवल पदपूर्तिको प्रक्रिया मात्र नभई उनको साधना, अनुभव र समर्पणको संस्थागत सम्मान हो। चलचित्र क्षेत्रका विश्लेषकहरूले यो नियुक्तिलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। उनी निकट भविष्यमा सेन्सर बोर्डको कार्यशैलीमा नयाँ दृष्टिकोण र व्यावसायिकताको सुरुवात गर्ने अपेक्षा पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array