राजकुमार ओली।,झापा, भद्रपुर –
लामो समयदेखि प्राविधिक र कानुनी जटिलतामा अल्झिएको गिरीजाप्रसाद कोइराला स्मृति भवन अन्ततः निर्माण सम्पन्नताकाे दिशामा अघि बढेको छ। झापा सदरमुकाम चन्द्रगढीको मुख्य भागमा अवस्थित यस स्मृति भवनलाई सम्पूर्ण झापा बासी, विशेषगरी भद्रपुरबासीको प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण परियोजना मानिन्छ।
भवन निर्माणका लागि सबै अवरोधहरू हटाई नेपाल सरकारद्वारा चालु आर्थिक वर्षमा रू. ३ करोडको बजेट विनियोजन गरिएको छ। यस ऐतिहासिक परियोजनाको पुनःसञ्चालनले झापाका नागरिकहरूमा उत्साहको लहर ल्याएको छ।
प्रधानमन्त्री ओलीको पहलप्रति विशेष धन्यवाद
यस कार्यमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहल, समन्वय र प्रतिबद्धता प्रशंसनीय रहेको भन्दै झापावासीले आभार प्रकट गरेका छन्। झापा जिल्लाको विकासका लागि ओलीले गरेका बहुआयामिक प्रयासहरूमध्ये यो भवनसम्बन्धी निर्णय महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
स्मृति भवन निर्माणमा सहजता ल्याउन र बजेट सुनिश्चित गर्न शहरी विकासमन्त्री माननीय प्रकाशमान सिंह, अर्थमन्त्री, सभामुख, वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, अन्य झापाली अग्रज नेताहरू, स्थानीय जनप्रतिनिधि, तथा सरकारका सम्बन्धित निकायहरूले पुर्याएको भूमिकालाई पनि झापाली जनताले उच्च सम्मान व्यक्त गरेका छन्।
स्मृति भवनको ऐतिहासिक र भावनात्मक महत्व
लोकतन्त्रका प्रबल योद्धा तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा निर्माण हुँदै गरेको यो स्मृति भवनले केवल भौतिक संरचना मात्र नभई लोकतान्त्रिक इतिहासको सम्मानको प्रतीक हो। यसले राष्ट्रिय राजनीतिमा झापाको ऐतिहासिक भूमिकालाई झल्काउने अपेक्षा गरिएको छ।
भविष्यमा यो भवनलाई बहुउपयोगी सार्वजनिक स्थल, स्मृति संग्रहालय, तथा शैक्षिक–सांस्कृतिक गतिविधिका लागि केन्द्र बनाउने योजनासमेत रहेको जानकारी प्राप्त भएको छ।
पुनश्चः नेपाल सरकारप्रति धन्यवाद
बर्तमान नेपाल सरकारप्रति विशेष धन्यवाद दिँदै स्थानीयबासीहरूले भवन सम्पन्न गरी नागरिक प्रयोगमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने आशा व्यक्त गरेका छन्।
अब स्मृति भवन निर्माणमा कुनै थप अवरोध नरहने विश्वासका साथ सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता झापाली जनसमुदायले औंल्याएका छन्।