बिर्तामोड २८ जेठ

झापामा बढ्दो गर्मीका कारण एकै दिन दुई जनाको ज्यान गएको आशङ्का गरिएको छ।

अत्यधिक तापक्रमका बीच सोमवार दिउँसो दुई फरक स्थानमा एक वृद्ध र एक युवक मृत फेला परेका छन्। दुवै मृतकको शरीरमा बाह्य चोटपटक देखिएको छैन र उनीहरू अचानक लडेका अवस्थामा फेला परेका थिए।

दिउँसो ४ बजे अर्जुनधारा नगरपालिका–११ नयाँ बस्तीस्थित चिया बगानको कच्ची बाटोमा ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा भेटिएका थिए। उनी स्वस्थ देखिए तापनि अचानक लडेका थिए। स्थानीयले उनी मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।

त्यस्तै, बिर्तामोड नगरपालिका–२ फूलबारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा ३६ वर्षीय राम टुडु मृत फेला परेका छन्। उनी घोप्टो परेर लडेका थिए भने शरीरमा कुनै चोटपटक थिएन। प्रहरीले दुवै शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाएको जनाएको छ।

गर्मीको असर झापामा

हाल झापामा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। उच्च तापमानसँगै आर्द्रता (ह्युमिडिटी) बढेकाले ‘हीट स्ट्रोक’ को जोखिम पनि बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ। विशेषगरी वृद्ध, सुत्केरी, बालबालिका र कामको सिलसिलामा खेत, कारखाना वा खुला स्थानमा लामो समय बिताउने व्यक्तिहरू प्रभावित हुने सम्भावना बढी हुन्छ।

स्वास्थ्यकर्मीको सुझाव

प्रादेशिक अस्पताल, भद्रपुरका एक स्वास्थ्यकर्मी डा. भण्डारी भन्छन्, “गर्मीले गर्दा शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा मानिस अचेत हुने, झम झम लाग्ने, बेहोस हुने, र ज्यानै जाने अवस्थासम्म पुग्न सक्छ।”

उनका अनुसार लगातार गर्मीमा काम गर्दा शरीर डिहाइड्रेट भई लक्षण देखिन सक्छ। यस्तो बेलामा धेरै पानी पिउनु, हलुका कपडा लगाउनु, घाममा लामो समय नबस्नु र अत्यावश्यक परेमा छायाँ वा चिसो स्थानमा विश्राम गर्नु उपयुक्त हुन्छ

विशेषगरी गाउँघर तथा खुला ठाउँमा कार्यरत व्यक्तिहरूका लागि नगरपालिका र स्वास्थ्य संस्थाहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ। स्थानीय तहहरूले पानी वितरण, छायाँ व्यवस्था तथा रेड अलर्ट सूचना प्रणाली प्रभावकारी रूपमा लागू गर्नु आवश्यक देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *