काठमाडौं, जेठ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि गरिएको सहमतिको प्रयास विफल भएपछि अन्ततः निर्वाचन प्रक्रियामा प्रवेश गरिएको छ। काठमाडौँमा जारी महाधिवेशनमा अध्यक्षदेखि सचिवालयसम्मका पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ।
पार्टी नेतृत्वले अनेरास्ववियुको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न पटक-पटक प्रयास गरेको थियो। पार्टी हाइ कमाण्डको निर्देशनमा अध्यक्षसहित सबै पदका लागि साझा उम्मेदवार तय गर्ने गृहकार्य भए पनि उम्मेदवारहरूबीच समझदारी नजुटेपछि निर्वाचनमा जाने परिस्थिति सिर्जना भएको हो।
अध्यक्षमा दुई उम्मेदवार
अध्यक्ष पदका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। दुवै उम्मेदवार आ-आफ्ना प्यानल र गुटगत समर्थनसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
उपाध्यक्षमा कडा प्रतिस्पर्धा
उपाध्यक्ष पदमा समेत चर्को प्रतिस्पर्धा देखिएको छ। खुल्ला उपाध्यक्षमा भरत धामी (लिपुलेक), राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमले उम्मेदवारी दिएका छन्। यस्तै, महिला उपाध्यक्षका लागि अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँ प्रतिस्पर्धामा छन्।
महासचिवदेखि सचिवसम्म भिडन्त
महासचिव पदमा दीपक धामी, आरके रोमस र सुनिल कँडेलबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुँदैछ। उपमहासचिव पदमा कमल जोशी, अमर शाही र प्रेमिका शाहीले उम्मेदवारी दिएका छन्।
सचिव पदमा भने करिब ४० जनाले उम्मेदवारी दिएका छन्। जसमा रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी, राजेश ओलीलगायत रहेका छन्।
निर्वाचन तालिका
निर्वाचन कार्यतालिका अनुसार हिजो उम्मेदवारी दर्ताको काम सम्पन्न भएको थियो। उम्मेदवार दर्ता फारम दिउँसो ३ देखि ५ बजेसम्म वितरण तथा साँझ ४ देखि ६ बजेसम्म दर्ता लिइएको थियो। आज बिहान १० बजेदेखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय गरिएको छ। यद्यपि, अन्तिम नामावली आउन बाँकी भएकाले मतदानको समय केही पर सर्न सक्ने निर्वाचन समितिले जनाएको छ।
पछिल्ला अध्यक्षहरू
अनेरास्ववियुमा पछिल्लोपटक अध्यक्ष पदमा समिक बडाल रहेका थिए। त्यसअघि हिक्मत कार्की अध्यक्ष रहिसकेका छन्। अनेरास्ववियुको नेतृत्व इतिहासमा गुटगत प्रतिस्पर्धा र सहमतिका प्रयास निरन्तर देखिँदै आएका छन्। पछिल्ला महाधिवेशनहरूमा पनि नेतृत्व चयनमा विवाद र सहमतिको असफल प्रयास पुनः दोहोरिँदै आएको हो।
पार्टी संगठनभित्र युवा नेतृत्वका रूपमा अनेरास्ववियु शक्तिशाली विद्यार्थी संगठनको हैसियतमा रहँदै आएको छ। यही कारण पनि नेतृत्व चयनप्रति पार्टी हाइ कमाण्डकै चासो रहने गरेको देखिन्छ।
आजको मतदानबाट कसले नेतृत्व सम्हाल्ने भन्ने उत्सुकता बढेको छ।