बिर्तामोड, झापा।
झापाको बिर्तामोडमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको छ। प्रहरी विशेष स्रोतका अनुसार बिर्तामोड–५ निवासी ५२ वर्षीया एक महिलामा कोरोना संक्रमण भेटिएको हो।
गत दिन बिर्तासिटी अस्पतालमा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पोजिटिभ आएको थियो। पछिल्लो समय देखा परेका नयाँ भेरियन्टहरूमध्ये यो संक्रमण झापामा पुष्टि भएको पहिलो घटना हो। संक्रमित महिला हाल घरमै आइसोलेसनमा रहिरहेकी छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। यद्यपि संक्रमणबारे थप प्रमाण सङ्कलन तथा पुष्टि गर्न सम्बन्धित निकायले अनुसन्धान सुरु गरिसकेको छ।
यसअघि कोरोना महामारीका क्रममा झापामा २८ हजार ९०८ जना संक्रमित भएका थिए। तीमध्ये ६७२ जनाले ज्यान गुमाएका थिए। हालसम्म जिल्लामा १ लाख ३८१ जनाको पीसीआर परीक्षण र ४२ हजार ४१० जनाको एन्टिजेन परीक्षण गरिएको छ।
नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा सुरक्षा निकायहरू थप सतर्क भएका छन्। विशेषगरी बिर्तामोड तथा आसपासका क्षेत्रमा निगरानी कडा पारिएको छ। स्थानीय प्रशासनले सर्वसाधारणलाई अनावश्यक भीडभाडबाट टाढा रहन, मास्कको प्रयोग गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्टहरू प्रायः पहिलेभन्दा छिटो सर्ने र कतिपय अवस्थामा लक्षणहरू फरक देखिन सक्ने भएकाले सावधानी आवश्यक छ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार सतर्कता र सावधानी अपनाइए संक्रमणको साखला विस्तार रोकिन सक्ने छ ।