राजकुमार ओली,बिर्तामोड, ३१ जेठ:(रासस)
साना तथा घरेलु उद्योग व्यवसायीहरूका दर्ता, नवीकरण, खारेजी तथा कर सम्बन्धी समस्या समाधानका लागि घरेलु तथा साना उद्योग कार्यालय झापाले आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आज बिर्तामोडमा आयोजित कार्यक्रममा उद्यमीहरूका समस्या पहिचान गरी समाधानका उपायहरू तय गर्न छलफल गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ झापाको सहजीकरणमा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी कार्यालय प्रमुख पुष्पलता उप्रेतीले व्यवसायीहरूको हितमा प्रशासनिक सहजीकरण गरिन थालेको बताउनुभयो । उहाँले १५ करोड रुपैयाँसम्मको लगानी भएका साना उद्योगहरूको नामसारी, नवीकरण लगायतका प्रक्रियामा देखिएका समस्या समाधानमा कार्यालय सक्रिय रहेको जानकारी दिनुभयो ।
“विगत ३ वर्षदेखि नवीकरण नगरेका र खारेजी प्रक्रियामा गएका उद्योगहरूलाई छुट दिइएर पुनः नवीकरणको अवसर प्रदान गरिएको छ”, प्रमुख उप्रेतीले भन्नुभयो।
कार्यक्रममा सहभागी उद्यमी तथा महासङ्घका प्रतिनिधिहरूले व्यवसायीहरू करको अतिरिक्त बोझले समेत समस्यामा परेको उल्लेख गर्दै कर नीतिमा लचकता आवश्यक रहेको धारणा राख्नुभएको छ। उनीहरूले साना तथा घरेलु उद्योगलाई प्रवर्द्धन गर्न सहुलियतपूर्ण कर प्रणाली र लगानीमैत्री वातावरण आवश्यक रहेकोमा जोड दिए ।
महासङ्घका कोशी प्रदेशका निवर्तमान अध्यक्ष राजेश कोइरालाले साना उद्योगीहरू कर र प्रशासनिक झमेलामा फँस्दा व्यवसाय विस्तार गर्न कठिनाइ हुने हुँदा सरकारबाट सहजीकरण आवश्यक रहेको बताउनुभयो । कानुनी सल्लाहकार पुण्य शिवाकोटीले पनि उद्योग दर्ता, नवीकरण, नामसारी, करका विषयमा स्पष्ट मार्गनिर्देशन र कानुनी स्पष्टता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय झापामा हालसम्म २६ हजारभन्दा बढी उद्योग दर्ता भइसकेका छन् भने वाणिज्य तथा खरिद बिक्री तर्फ २० हजार ५ सय फर्म दर्ता भएका छन् । यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासङ्घको झापा शाखामा ३ हजार ५ सय उद्योग दर्ता भए पनि हालसम्म २५० मात्र नवीकरण भएको महासचिव खगेन्द्र प्रसाईले जानकारी दिनुभयो ।
गत आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले २ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म २ करोड ४८ लाख रुपैयाँ राजस्व पनि संकलन भइसकेको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा मेचीनगर, कन्काई, अर्जुनधारा, भद्रपुर, बुद्धशान्ति, बिर्तामोड र हल्दीबारिका साना उद्योगीहरूको सहभागिता रहेको थियो । कार्यक्रम कार्यालय प्रमुख पुष्पलता उप्रेतीको सभापतित्वमा तथा महासङ्घका कोशी प्रदेशका निवर्तमान अध्यक्ष राजेश कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।