राजकुमार ओली,बिर्तामोड, १ असार: (रासस)

राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम झापाको बिर्तामोडमा सम्पन्न गरेको छ।

आज आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोख्रेलले सभापतित्व कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा आयोगका सदस्य गीता अधिकारी, महासचिव खोमराज कोइराला, मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल जोशी, पूर्व केन्द्रीय सदस्य केशवमणि पाण्डे, चिया निर्यातकर्तासमेत रहेकी शान्ता बाँस्कोटा कोइराला लगायत कोशी प्रदेशका अग्रणी उद्योगी तथा व्यवसायीहरूको सक्रिय सहभागिता जनाउँदै आफ्नाआफ्ना समस्याहरूलाई समाधान गर्नको निमित्त राष्ट्रिय योजना आयोगसँग राय प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अधिकारीले नेपालले अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो”नेपालको निर्यात व्यापार विस्तारका लागि अब कृषि, जडीबुटी, अलैँची, चिया, अदुवा, सुपारीजस्ता नगदे बालीलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरिनुपर्छ। यस्ता कार्यक्रमहरू नीति निर्माणमा प्रत्यक्ष सघाउने छन्,” अधिकारीले बताउनुभयो ।

उहाँले भन्सार पूर्वाधारको सुधार, भन्सार प्रक्रियामा सहजता, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय बजारको पहुँच, यातायात पूर्वाधारमा लगानी र निजी क्षेत्रसँग सहकार्यलाई दिगो विकासको मेरुदण्डका रूपमा प्रस्तुत गर्नुभएको छ ।

छलफलमा सहभागी सदस्य गीता अधिकारीले आगामी भोलिदेखि बिर्तामोडमा सुरु हुने भूटान, बङ्गलादेश, भारत र नेपालको चार देशीय विज्ञ समूहको कार्यशालामा कोशी प्रदेशका भन्सार नाकाबाट निर्यात हुँदै आएका वस्तुहरू र एसियन हाइवे जस्ता सम्भावनाका विषयमा समेत विस्तृत छलफल गरिने बताउनुभएको छ ।

कार्यक्रममा सहभागी व्यवसायीहरूद्वारा नेपालबाट हाल निर्यात भैरहेका चिया, अलैँची, अदुवा, सुपारी, जडीबुटी लगायतका नगदे बाली तथा भविष्यमा सम्भावित अन्य कृषिजन्य वस्तुहरूमा गहिरो बहस गरिएको थियो।

निर्यात व्यवसायी महासङ्घकी उपाध्यक्ष तथा चिया निर्यातकर्त्री शान्ता बाँस्कोटा कोइरालाले पनि नेपालको जैविक चिया, जडीबुटी र अन्य कृषिजन्य उत्पादनमा अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको धारणा व्यक्त गर्दै निर्यात वृद्धि गर्न नीति, पूर्वाधार र ब्राण्डिङमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ।

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष पोख्रेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिको सहकार्यमा निर्यात व्यापार सुदृढ बनाउने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले सीमापार व्यापारमा भन्सार सहजता, यातायात सञ्जाल विस्तार, भन्सार जाँच प्रक्रियामा सुधार, विदेशी बजारमा पहुँच विस्तारलगायतका सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *