राजकुमार ओली’ ३ असार:विराटनगर,
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मुलुक संघीयतामा गएपछि भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको ‘सञ्चार माध्यममार्फत उत्पादन, बजार र पूर्वाधार विकासको अन्तरसम्बन्ध’ विषयक बहस कार्यक्रममा मन्त्री राईले विगतमा व्यवस्था परिवर्तनका क्रममा सञ्चारमाध्यमबाट प्रसारित नकारात्मकता अहिले पनि दोहोरिइरहेको उल्लेख गर्दै विकासको सन्देशलाई सकारात्मक ढंगले प्रसारण गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “संघीयता कार्यान्वयनसँगै भौतिक पूर्वाधार विकासको गतिमा उल्लेख्य परिवर्तन आएको छ। यो परिवर्तनले कृषि उपजको उत्पादन र त्यसको बजारमा पु-याउन समेत मद्दत पुर्याएको छ। तर विकास भएका कुराको प्रसार हुन नसक्नु दु:खद पक्ष हो।”
मन्त्री राईले विगतमा राणा शासन, पञ्चायत, र राजतन्त्रका विरोधमा सञ्चारमाध्यमले भूमिका खेलेको प्रसंग स्मरण गर्दै अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि उस्तै शैली कायम रहनु स्वाभाविक नभएको टिप्पणी गर्नुभयो।
उहाँले सञ्चारमाध्यममार्फत भएका उपलब्धिहरूलाई उजागर गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो, “राम्रो कुरा भन्दा नकारात्मक समाचार ‘बिक्ने’ प्रवृत्ति अझै हावी छ। तर अब भएका राम्रा कामको चर्चा गरेर जनतालाई सकारात्मक उर्जा दिनुपर्ने बेला आएको छ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले सञ्चारमाध्यमले विकास, उत्पादन र बजारको त्रिकोणात्मक सम्बन्धको बृहत विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “हामीले यो बहस उत्पादन र पूर्वाधारको सम्बन्धलाई नीतिगत बहसको तहमा लैजान आयोजित गरेका हौं।”
कार्यक्रममा महासंघ कोशीका सल्लाहकार लिलाबल्लभ घिमिरे, विवेक गौतम, प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार श्रेष्ठ, प्रेस चौतारी कोशीका महासचिव बाबुराम भण्डारी, समाजवादी प्रेस संगठन कोशी अध्यक्ष बन्धु पोखरेल, मोरङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उद्योग वाणिज्य महासंघ कोशीका सदस्य राजन श्रेष्ठ, महासंघ मोरङ अध्यक्ष सुशिला पाठकलगायत वक्ताहरूले उत्पादन, बजारीकरण र पूर्वाधार विकासमा सञ्चारको भूमिकाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा पत्रकार अमर खड्काले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने रुद्र पङ्गेनीले सहजीकरण गर्नुभएको थियो। महासंघका उपाध्यक्ष कुमोद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव हिमा चेम्जोङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
उद्योग व्यवसाय क्षेत्रका अगुवा, निर्माण व्यवसायी, इन्जिनियरिङ एशोसियसनका पदाधिकारी तथा पत्रकारहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले आयोजना गरेको हो।
कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले पूर्वाधार विकासले कृषि उत्पादन र बजारलाई प्रभावित गर्ने सम्बन्धका विषयमा अनुसन्धान, तथ्याङ्क संकलन र नीति निर्माणमा सञ्चारमाध्यमको भूमिकालाई सशक्त तुल्याउनुपर्नेमा जोड दिनुभएको थियो।