बिर्तामोड, असार ६ — नेपाल कम्युनिष्ट आन्दोलनको वर्तमान उचाइ द्रोणाचार्य क्षेत्री जस्ता नेता–कार्यकर्ताहरूको त्याग, निष्ठा र वैचारिक स्पष्टताको जगमा निर्मित भएको नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताउनुभएको छ।

प्रेस चौतारी नेपाल, झापा शाखाले पूर्व सांसद तथा पत्रकार द्रोणाचार्य क्षेत्रीको ३२औं स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘परिचर्चा कार्यक्रम’ मा बोल्दै प्रमुख अतिथि रिजालले भन्नुभयो, “द्रोणाचार्यहरुले पार्टीमा काम गरे वापत व्याजको हिसाब नगरेकै कारण आन्दोलन यहाँसम्म आएको हो।”

उहाँले परिवर्तनको महत्व बुझ्न, अघिल्लो पुस्ताका नेताको त्याग र दूरदृष्टिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो।

ओझेलमा परेको योगदानलाई पुनः उजागर गर्नुपर्ने माग

कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं साहित्यकार लीला उदासीले द्रोणाचार्य क्षेत्रीको योगदान क्रमशः ओझेलमा पर्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,

“कम्युनिष्ट आन्दोलनको विगतलाई फर्केर हेर्दा द्रोणाचार्य क्षेत्रीको योगदानलाई भुल्न मिल्दैन। उहाँको कलम, विचार र आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक छ।”

उहाँले वर्तमान पुस्ताले क्षेत्रीको उत्तराधिकारीको रूपमा कलम चलाउन र विचार विस्तार गर्न सक्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

विचार र अडानको नेता

नेकपा एमाले अनुशासन आयोगका सदस्य अर्जुन राईले द्रोणाचार्य क्षेत्रीको राजनीतिक जीवनलाई अडान, संघर्ष र सादगीको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो।
उहाँले भन्नुभयो, “द्रोणाचार्यको विचार र अडानले राजनीतिक विजय सम्भव भएको हो। उहाँको योगदानलाई स्मरण गर्नु भनेको आन्दोलनलाई अझ सुदृढ बनाउनु हो।”

नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्य

कार्यक्रममा पत्रकार, साहित्यकार, राजनीतिकर्मी र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले द्रोणाचार्य क्षेत्रीको योगदान नयाँ पुस्तासमक्ष ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव तिलक योञ्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *