बिर्तामोड,९ असार
बिर्तामोड बसपार्कस्थित पाथिभरा सेन्टर फर एड्भान्स स्टडिज (पाथिभरा इन्जिनियरिङ कलेज) ले एसइइ उत्तीर्ण विद्यार्थीका लागि तीन वर्षे ओभरसियर तहका कक्षा सञ्चालन गर्ने भएको छ।
कलेजका प्रिन्सिपल तथा प्रमुख कार्यकारी अधिकृत इन्जिनियर अनुज पराजुलीका अनुसार स्नातक तहमा सिभिल तथा कम्प्युटर इन्जिनियरिङ पढाउँदै आएको कलेजले अब सिटिइभिटीबाट सम्बन्धन प्राप्त ओभरसियर कार्यक्रमसमेत सुरु गर्न लागेको हो।
उनका अनुसार सिभिल ओभरसियर, कम्प्युटर ओभरसियर र इलेक्ट्रिकल ओभरसियरका कक्षाहरु सञ्चालनमा ल्याइने छन्। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पाथिभरा इन्जिनियरिङ कलेज पूर्वाञ्चलको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो।
कलेजका संस्थापक अध्यक्ष युवराज प्रसाईंका अनुसार ओभरसियर अध्ययनका लागि विद्यार्थी भर्ना प्रक्रिया सुरु भइसकेको छ। स्वरोजगारमुखी प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको कार्यक्रमअन्तर्गत एसइइ उत्तीर्ण विद्यार्थीहरुले प्रवेश परीक्षाबिना नै भर्ना हुन सक्ने व्यवस्था गरिएको छ।
“यो स्वरोजगारमुलक शिक्षा भएकाले अध्ययनकै क्रममा नै रोजगारको अवसर सिर्जना हुने ग्यारेन्टीसहित विद्यार्थीको आकर्षण बढ्दो छ”, अध्यक्ष प्रसाईंले बताए।
कलेजले झापा र आसपासका जिल्लाका विद्यार्थीलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेको जनाएको छ। सुलभ शुल्क, छात्रवृत्तिको व्यवस्था र आवश्यक प्रयोगशालाका सम्पूर्ण उपकरणको प्रबन्ध गरिएको जानकारी दिइएको छ। तीन वर्षे कोर्सको सम्पूर्ण शुल्क एक लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रिन्सिपल पराजुलीका अनुसार प्राविधिक शिक्षा लिने विद्यार्थीको भविष्य सुरक्षित हुने तथा विदेशमा रोजगारी खोज्नेका लागि समेत यो पाठ्यक्रम उपयोगी हुने भएकाले अभिभावकहरु सचेत हुनुपर्ने आवश्यकता रहेको छ।
कलेजमा ओभरसियर तहमा जम्मा ४८ जना विद्यार्थी मात्र भर्ना लिइने भएकाले समयमै फारम बुझाउन अनुरोध गरिएको छ ।