बिर्तामोड, ७ असार: (रासस)
झापाको दमकमा आज आयोजित एक भव्य समारोहमा मदन पुरस्कार विजेता युवराज नयाँघरेलाई जीवन आचार्य स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ।
जीवन स्मृति प्रतिष्ठानले स्थापना गरेको यस पुरस्कारबाट २०७८ सालका लागि युवराज नयाँघरे, २०७९ सालका लागि वरिष्ठ अधिवक्ता लिला उदासी, ८० सालका लागि विक्रमश्री र ८१ सालका लागि रिचा ताम्राकारलाई सम्मान प्रदान गरिएको हो।
दमक बहुमुखी क्याम्पसको सभा हलमा आयोजित समारोहमा झापा जिल्लाका प्रमुख साहित्यकार र स्रष्टाहरूसमेत उपस्थित थिए। सम्मानित व्यक्तिहरूलाई दमक नगरपालिकाका नगरप्रमुख राम थापाले पुरस्कार प्रदान गर्नुभएको हो
“यो पुरस्कारलाई प्रतिष्ठानले २०४६ सालमा निधन भएका वरिष्ठ साहित्यकार जीवन आचार्यको स्मृतिमा स्थापना गरेको हो। यस पुरस्कारमार्फत प्रतिष्ठानले २०७८, २०७९ र २०८०, २०८१ सालका लागि लिला उदासी, विक्रमश्री र  ताम्राकारलाई एकसाथ सम्मानित गरेको हो।
समारोहमा जीवन आचार्य युवा प्रोत्साहन पुरस्कार पनि प्रदान गरिएको छ ।
 यस पुरस्कारबाट १० हजार १ सय ११ रुपैयाँ राशीसहित चोमु खुसी शेर्पालाई सम्मानित गरिएको हो। उनले नेपाली साहित्य र समाजमा सकारात्मक प्रभाव छोड्नका लागि यो पुरस्कार प्राप्त गर्नुभएको हो।
जीवन स्मृति प्रतिष्ठानको स्थापना नेपालका वरिष्ठ साहित्यकार जीवन आचार्यको २०४६ सालमा मृत्यु पछि उनका पिता कमल जङ्गली तथा भाइ टंक आचार्य समेतको अगुवाइमा गरिएको थियो। प्रतिष्ठानको उद्देश्य नेपाली साहित्यको उत्थान र जीवन आचार्यको योगदानलाई सम्मान गर्दै भविष्यमा साहित्यमा आफ्नो योगदान दिने नयाँ पुस्तालाई प्रोत्साहित गर्नुरहेको अध्यक्ष भूमि दाहालले बताउनुभयो।
कार्यक्रमको अध्यक्षता जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमि दाहालले गर्नुभएको थियो भने, सचिव धनकुटे कान्छाले कार्यक्रमको सञ्चालन गर्नुभएको हो।
कार्यक्रममा पुरस्कार प्राप्त स्रष्टाहरू र साहित्यकारहरूले आफ्नो योगदान र कार्यको बारेमा कुरा गर्दै, प्रतिष्ठानको महत्व र साहित्यिक समुदायको समर्थनको आवश्यकता विषयमा विचार व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *