राजकुमार ओली, १५ असार बिर्तामोड
“धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नाराका साथ देशभर मनाइएको २२औँ राष्ट्रिय धान दिवस झापामा समेत उत्साहका साथ मनाइएको छ। नेपाल किसान महासंघ झापाले आयोजना गरेको धान महोत्सवमा किसान, सहकारी, जनप्रतिनिधि, राजनीतिकर्मी, युवा तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।
वि.सं. २०६२ सालदेखि सुरु भएको राष्ट्रिय धान दिवसमा हरेक वर्ष असार १५ गते विशेष कार्यक्रम आयोजना गरिँदै आएको छ। यस दिनलाई ‘धान दिवस’ वा ‘रोपाइँ महोत्सव’का रूपमा मनाउने गरिन्छ, जुन कृषिप्रति सम्मान र राष्ट्रिय उत्पादनको सन्देश बोकेको महत्वपूर्ण दिन हो।
कार्यक्रममा सहभागिहरूले किसानप्रतिको सम्मान प्रकट गर्दै आफ्नो व्यस्त जीवनका बाबजुद खेतबारीमा पुगेर रोपाइँमा हातेमालो गरेका थिए। ‘धान किसानले नै रोप्छन्, बाली पनि किसानले नै थन्काउँछन्’ भन्ने सन्देशसहित किसानका छोराछोरी तथा विभिन्न पेसामा संलग्न व्यक्तिहरूले पनि खेतमा पाइला राख्दै किसानको योगदान सम्झिएका थिए।
कार्यक्रममा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि उपस्थिति जनाएका थिए। सिटौलाले केही रमाइलो किसिममा भने, “अब त झन्डै राँगा जोत्न पनि बिर्सिएछु।” उनको भनाइले कार्यक्रममा थप उत्साह र हाँसो ल्याएको थियो।
यद्यपि धेरैले रास्ट्रिय पोशाकमा धान रोपाइँमा संलग्न भएका तस्बिरहरू सार्वजनिक गर्दा, केही सहभागीहरू भने आफ्नो रोपाइँको फोटो नहुनुमा दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।
कार्यक्रमका क्रममा किसानहरूका समस्या, उत्पादन लागत, मलबिउको अभाव, जलस्रोतको व्यवस्थापन लगायतका विषयमा समेत छलफल भएको थियो। किसान महासंघका पदाधिकारीहरूले राज्यले कृषिमा यथोचित लगानी गर्नुपर्नेमा जोड दिए।
नेपालमा मुख्य अन्नबालीका रूपमा रहेको धान राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण कृषि उपज हो। धान दिवसले देशलाई आत्मनिर्भर बनाउने मार्गमा सन्देश दिने उद्देश्य राखेको छ ।