राजकुमार ओली: १५ असार बिर्तामोड
झापा जिल्लामा पछिल्लो समय मनोसामाजिक समस्या तीव्र रूपमा बढ्दै गएको छ ।
मानसिक स्वास्थ्य समस्या तथा परामर्श सेवाको अभावले गर्दा खासगरी अपाङ्गता भएका व्यक्ति, किशोरकिशोरी, महिला तथा सीमावर्ती क्षेत्रमा कार्यरत श्रमिकहरू थप जोखिममा परेको पाइएको छ ।
नेपाल सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिक उपचार सेवाभित्र समावेश गरे पनि जिल्ला र स्थानीय तहमा मनोसामाजिक परामर्श सेवाको पहुँच न्यून रहेको पाइएको छ । झापाको मेचीनगर नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता पहिचान स्वास्थ्य शिविरका अनुसार शारीरिक अपाङ्गता भएका व्यक्तिहरूमध्ये २२.६७ प्रतिशतमा मनोसामाजिक अपाङ्गता समेत रहेको देखिएको छ ।
मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका अनुसार धेरैजसो अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना भावनात्मक अवस्था व्यक्त गर्न सक्दैनन्, जसले गर्दा उनीहरूमा मानसिक समस्या देखिनुका साथै त्यसको पहिचान र उपचारमा समेत चुनौती थपिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार खुला सिमाना र पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको बढ्दो चाप सँगै रोजगारसँगै बढेको मानव बेचबिखन पनि मानसिक समस्याको कारक भएको बताउनुहुन्छ ।
मेचीनगर भारतसँगको खुला सीमामा रहेको हुँदा मानव आवागमन, रोजगारी, आप्रवासन र मानव तस्करीका घटना उच्च छन् । सीमापार गतिविधिका कारण सामाजिक अस्थिरता, पारिवारिक विघटन र मानसिक दबाबमा रहेका व्यक्तिहरूमा मनोसामाजिक समस्या झनै तीव्र रुपमा देखिन थालेको सामाजिक विकासकर्मीहरूको भनाइ छ ।
विशेषगरी अभिभावकविहीन बालबालिका, आप्रवासी श्रमिक, अपाङ्गता भएका महिला, र बोल्न नसक्ने व्यक्तिहरूलाई लक्षित मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाल झापामा गनिनसक्ने संख्यामा मात्र मनोसामाजिक परामर्शदाता कार्यरत रहेको पाइन्छ ।
मनोविद एवं मेची नगर नगरपालिकाकी अधिकृत सरस्वती मिश्र यस्ता समस्याबाट पीडितहरू लुकाउन खोज्ने, समाजमा बदनाम हुने डरका कारण उपचार खोज्न हिच्किचाउने प्रवृत्ति व्यापक भएको बताउनुहुन्छ । सामाजिक लाञ्छना, भेदभाव र चेतनाको अभावले गर्दा पीडितको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको मिश्रको अनुभव छ।
विशेषज्ञहरूका अनुसार मानसिक समस्या भएका व्यक्तिहरूलाई उचित उपचार, सामाजिक सहारा र समावेशी वातावरण प्रदान गर्न सकेमा उनीहरूले पनि आत्मनिर्भर र सम्मानजनक जीवन बाँच्न सक्ने छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका मा समेत मानसिक समस्याका बिरामीको चाप बढेको देखिएको छ। गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख मिना बिष्ट को अनुभवमा उत्तरी सीमाका गाउँपालिका र जिल्लाहरू इलाम पाँचथर ताप्लेजुङ एवं छिमेकी मुलुकका राज्यहरू सिक्किम र पश्चिम बङ्गालबाट आउने नेपाली मूलका नागरिकमा समेत मानसिक समस्या देखिने गरेको र यो नेपालभरकै गम्भीर समस्या भएको बुझाई र अनुभव छ।
पुरुषहरूमा भन्दा महिलाहरूमा यो किसिमका समस्या हरू धेरै पाइएकोले पनि स्थानीय सरकार र प्रदेश सरकारले समेत यो विषयलाई गम्भीर रुपमा लिएर अघि बढ्नुपर्ने देखिएको बिष्ट बताउनुहुन्छ।
आफूहरूका बालबालिकाहरूमा अटिजमहरूका समस्या समेत देखिने गरेकोले दमक नगरपालिका र स्थानीय छिमेकी पालिकाहरुले अभियानलाई साथ दिएको समिन रिजाल बताउँछन्।
आफ्ना आफन्त र परिवारहरूमा देखिएको अटिजम र अपाङ्गताको समस्या हुँदा यो कुरा बाहिर नआउँदा समेत अझ जोखिम बढ्ने सम्भावना रहेको रिजालको अनुभव छ।
उनीहरूले स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा स्थापनाका साथै सामुदायिक तहमा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । विद्यालय, स्वास्थ्य संस्था तथा महिला तथा बालबालिकासम्बन्धी कार्यालयहरूले समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवाज उठ्दै आएको छ ।