चारपाने अर्जुनधारा विकास समाजले मनायो भव्य रुपमा धन दिवस

 

चारपाने, १५ असार: पूर्व खबर
धान दिवस २०८२ को अवसरमा चारपाने अर्जुनधारा विकास समाजले बिर्तामोड–२ मा विशेष कार्यक्रम गरी कृषकलाई सम्मान गर्दै नेपाललाई आत्मनिर्भर कृषि प्रणालीतर्फ उन्मुख गराउनुपर्ने सन्देश दिएको छ।

चारपाने अर्जुनधारा विकास समाजका अध्यक्ष देवि प्रसाद सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  बिर्तामोड नगरपालिका वडा नं २ का वडा अध्यक्ष किशोर पौडेल को प्रमुख आथित्यमा भएको कार्यक्रममा सह–आयोजकका रूपमा गोबिन्द कलेज, साङाबेद संस्कृत विद्यालय तथा अन्य स्थानीय संघ–संस्थाहरूको सक्रिय सहकार्य रहेको थियो।

कार्यक्रममा बोल्दै साङाबेद माध्यमिक विद्यालयका छन्दुराम भण्डारी, पिठाधीश प्राचार्य  किशोर गौतम लगायत वक्ताहरूले धानको महत्त्वबारे प्रकाश पार्दै भने, “धान केवल खाद्यान्न मात्र होइन, हाम्रो संस्कृतिको अभिन्न अङ्ग पनि हो। आत्मनिर्भर राष्ट्र निर्माणको पहिलो आधार कृषि नै हो।”

कार्यक्रमका विशेष आकर्षणका रूपमा ब्लक नं. ३ का उत्कृष्ट कृषक दिलीप राजवंशी र उहाँकी धर्मपत्नीलाई विशेष सम्मान गरिएको थियो। कृषिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उनीहरूलाई सम्मान गर्दै कृषि क्षेत्रलाई पुनः युवापुस्तामै अभिमुख गराउने सन्देश दिइएको आयोजकले जनाएको छ।

चारपाने अर्जुनधारा विकास समाजका उपाध्यक्ष चित्रकला ओलीका अनुसार, समाजले विगतका वर्षहरूमा सामुदायिक विकास, कृषक सशक्तिकरण, सडक सुधार, वन संरक्षण, स्थानीय उद्यमशीलता प्रवर्द्धनलगायत विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

उक्त कार्यक्रममा समाजका सबै कार्यसमिति सदस्य, ब्लक संयोजकहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

धान दिवसकै अवसरमा “धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै समाजले स्थानीय तहबाटै कृषि उत्पादनमा जोड दिनुपर्ने, युवा तथा महिलालाई कृषिमा आकर्षित गर्न कार्यक्रम आवश्यक रहेको सुझाव दिएको छ।

धान रोपाइँ मात्र उत्सव नभई, आर्थिक समृद्धिको आधार हो भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले समुदायमा कृषिप्रति सकारात्मक सोच निर्माण गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array