राजकुमार ओली
बिर्तामोड (झापा), असार १५ ।
नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ को लागि आवेदन खुला गरिएको छ । प्रतियोगिताको ग्रान्ड फिनाले भदौ १४ गते (सन् २०२५ सेप्टेम्बर १) मा काठमाडौ‍ंको गोदावरीमा आयोजना गरिने आयोजक दि हिडेन ट्रेजरले जानकारी दिएको छ ।

आफ्नो ३०औं वार्षिकोत्सवको अवसर पारेर आवेदन खुला गरिएको हो । आज झापाको बिर्तामोडमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत कार्यक्रम संयोजक प्रमोद कंसाकारले यसबारे जानकारी गराउनुभयो ।

चार शीर्ष विधामा विजेता छनोट हुने

मिस नेपाल २०२५ बाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल कुस्मो गरी चार विधामा विजेता घोषणा गरिनेछ । छनोटमा परेका प्रतिस्पर्धीहरूलाई व्यक्तित्व विकास, नेतृत्व सीप, समाज सेवा तथा अन्तर्राष्ट्रिय प्रतिनिधित्वको तयारीका विशेष तालिम प्रदान गरिनेछ ।

‘मुकुट मात्र होइन, जिम्मेवारीको प्लेटफर्म’

पत्रकार सम्मेलनमा मिस नेपाल २०२४ की विजेता सुमना केसी र मिस नेपाल इन्टरनेसनल २०२४ की करुणा रावतले आफ्नो अनुभव साट्दै प्रतियोगिता युवा महिलाहरूका लागि जीवनपरिवर्तनकारी अवसर भएको उल्लेख गरिन् ।

> सुमना केसीले भनिन्, “मिस नेपालले मलाई केवल मुकुट मात्र होइन, जिम्मेवारी र आत्मविश्वासको अवसर पनि दिएको छ ।”

करुणा रावतले भनिन्, “मिस नेपाल सामाजिक नेतृत्व र अन्तर्राष्ट्रिय प्रस्तुतिको अग्रस्थान हो ।”

 

प्रदेशस्तरमै पहिलोपटक पत्रकार सम्मेलन

यो वर्ष मिस नेपालको संवाद पहिलोपटक प्रदेशस्तरमै, अर्थात् झापामा आयोजना गरिएको हो । संयोजक कंसाकारले “अब मिस नेपाल सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने अभियानतर्फ अगाडि बढेको” बताउनुभयो ।

> कार्यक्रम संयोजक प्रमोद कंसाकारले भने, “हामी प्रदेशका युवतीहरूमाझ पनि मिस नेपालको सन्देश पुगोस् भन्ने सोचसहित संवाद अभियान सुरु गरेका छौं ।”

 

प्रारम्भिक छनोट असार २८ मा

असार २८ (जुलाई १२) मा आवेदन दिने प्रतिस्पर्धीहरूको प्रारम्भिक छनोट गरिनेछ । त्यसपछि छनोटमा परेकाहरूलाई ग्रान्ड फिनालेको तयारीका लागि विशेष प्रशिक्षण र व्यवस्थापन कोषमार्फत तयारी गरिने जानकारी गराइएको छ।

३० वर्षको गौरवशाली यात्रा

सन् १९९४ देखि नियमित आयोजना हुँदै आएको मिस नेपाल प्रतियोगिताले विगत तीन दशकयता नेपाली महिलाको नेतृत्व, शिक्षा, सामाजिक उत्तरदायित्व र सशक्तिकरणमा उल्लेखनीय योगदान दिँदै आएको छ । मिस नेपाल विजेताहरू विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता, कूटनीतिक मंच, सामाजिक अभियन्ता, कलाकारिता तथा नीति निर्माण तहसम्म सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *