झापा, असार १६,
झापा जिल्ला अदालतमा आज सोमबार १० जना नयाँ मेलमिलापकर्ता थपिएका छन्।
प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलको अध्यक्षतामा आयोजित विशेष समारोहमा नयाँ मेलमिलापकर्ताहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।
समारोहमा बोल्दै प्रमुख न्यायाधीश लुईटेलले मेलमिलाप प्रक्रियालाई न्याय सम्पादनको वैकल्पिक, दिगो र प्रभावकारी माध्यमको रूपमा औंल्याउँदै अनुशासन र इमान्दारीका साथ कार्य सम्पादन गर्न मेलमिलापकर्ताहरूलाई आग्रह गर्नुभयो। “सूचीकृत मेलमिलापकर्ताहरूले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक पूरा गरेमा विवाद समाधानमा मेलमिलापको महत्व झनै स्पष्ट हुने छ,” उहाँले भन्नुभयो।
नव–सूचीकृत मेलमिलापकर्ताहरूले कार्य सम्पादनका क्रममा निष्पक्षता र तटस्थता पालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मेलमिलापकर्ताहरूको तर्फबाट बोल्दै परमानन्द मिश्रले “अनुशासनपूर्वक र न्यायिक मर्यादा अनुरूप जिम्मेवारी वहन गर्ने” प्रतिवद्धता व्यक्त गर्नुभयो।
सपथग्रहण कार्यक्रम अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो।
जिल्ला अदालत झापामा हाल ८ जना न्यायाधीश कार्यरत छन् भने मेलमिलापकर्ताको कुल संख्या ४५ पुगेको छ। मुद्दाका पक्षहरूबीच सहमति आधारित समाधानलाई प्रोत्साहित गर्न अदालतले मेलमिलाप केन्द्रमार्फत ‘विन–विन’ सिद्धान्तमा आधारित विवाद समाधानलाई अघि बढाउँदै आएको छ।
शाखा अधिकृत बस्नेतका अनुसार, अदालतमा स्वचालित पेशी प्रणाली लागू भइसकेको छ भने इजलास छनौटमा गोला प्रणालीमार्फत निष्पक्षता सुनिश्चित गरिएको छ। मुद्दा दर्ता प्रणाली सफ्टवेयरबाट सञ्चालन हुने गरी अदालती विवरण सुप्रीम कोर्ट मार्फत सार्वजनिक रूपमा उपलब्ध छ।
न्यायपालिकाले मेलमिलाप प्रक्रियालाई सशक्त पार्दै विवाद समाधानमा सहभागितामूलक, खर्च र समय कुशल पद्धतिलाई प्रवर्द्धन गर्ने रणनीति अनुरूप काम गरिरहेको छ। प्रमुख न्यायाधीश लुईटेलले मेलमिलापकर्ताहरूको भूमिकालाई संवेदनशील, जिम्मेवार र निष्पक्ष बनाउन सतर्क रहन आग्रह गर्नुभएको थियो ।