मेचीनगरको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममा उल्लेखनीय प्रगति

 

राजकुमार ओली,: मेचीनगर

झापाको मेचीनगर नगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम चालु आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यअनुसार प्रगति गरेको छ ।

कोशी प्रदेश सरकार, मेचीनगर नगरपालिका र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित यस कार्यक्रमले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारतर्फ सार्थक कदम चालेको छ ।

महिला तथा बालबालिका शाखाले मंगलबार नगर सभाहलमा आयोजना गरेको वार्षिक समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा प्रस्तुत गरिएको विवरणअनुसार, चालु आर्थिक वर्षमा तोकिएको ३८ वटा गतिविधिमध्ये ८० प्रतिशतभन्दा बढी कार्यहरू सम्पन्न भएका छन् ।

कार्यक्रमका सहसंयोजक तथा करूणा फाउन्डेसन नेपाल, मेचीनगरका संयोजक पदम वराइलीका अनुसार, स्वास्थ्य परीक्षण शिविर, आवश्यकता पहिचान, परिचयपत्र वितरण, अनुदान सहयोग, पुनःस्थापना सहायता, सूचना प्रणाली व्यवस्थापन, र सहायक सामग्री वितरणलगायतका मुख्य कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएका छन् ।

शाखा प्रमुख जयन्ती खरेलका अनुसार, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण शिविरहरू लक्षित समुदायसम्म पुर्‍याउन सफल भएका छन् । त्यसका आधारमा अपाङ्गता पहिचान, वर्गीकरण तथा प्रमाणिकरण गरी १,६२२ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ ।

तथ्याङ्क अनुसार:

शारीरिक अपाङ्गता – ६४०

सुनाइ सम्बन्धी – २८५

मानसिक/मनोसामाजिक – २०१

बहु अपाङ्गता – १३९

बौद्धिक – १२५

दृष्टि सम्बन्धी – ११३

स्वर बोलाइ – ७२

अटिजम – ८३

हेमोफिलिया – २

अवसरका लागि बलियो नीति

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले अपाङ्गता भएका व्यक्तिहरूलाई माया होइन, अवसर आवश्यक भएको धारणा राख्दै भने, “उनीहरूलाई अवसर दिइयो भने उनीहरू अरु सरह काम गर्न सक्षम हुन्छन् ।” उनले अपाङ्गता अब गुप्त राखिने विषय नभई अधिकार, पहिचान र आत्मनिर्भरताको सवाल भएकोमा जोड दिए ।

उनका अनुसार, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधि र सीपमा दक्ष बनाउँदै आत्मनिर्भर बनाउनेतर्फ नगरपालिकाले आगामी दिनमा ठोस योजना अघि सार्नेछ । “राज्यको सेवा, सुविधा र स्रोत सबै अपाङ्गता भएका व्यक्तिसम्म समानरूपमा पुग्नुपर्छ,” बुढाथोकीले स्पष्ट पार्नुभयो ।

सहभागी संस्थाहरूको प्रतिबद्धता

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, वडा नं. १ का वडाध्यक्ष रामकुमार राई, कार्यपालिका सदस्य तीलजा देवान लगायतले कार्यक्रमको प्रगति सराहना गर्दै अपाङ्गता भएका व्यक्तिका लागि आगामी दिनमा अझ व्यापक नीति आवश्यक रहेको धारणा राखेका थिए ।

समावेशी विकास र समान पहुँचको आधारशिलास्वरूप रहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम मेचीनगरमा परिणाममुखी देखिएको छ । यस कार्यक्रमले सामाजिक न्याय, आत्मनिर्भरता र अधिकार सुनिश्चितताको दिशामा स्थानीय सरकारको प्रभावकारी भूमिका पुष्टि गरेको छ ।

सक्रिय साझेदारी, नीतिगत दृढता र समुदाय–केन्द्रित कार्यान्वयन जारी रह्यो भने मेचीनगर अपाङ्गता मैत्री नगरपालिकाको उदाहरण बन्ने प्रबल सम्भावना देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array